गरुडा (रौतहट), २७ भदौ । प्रहरीसँग आफ्नो पहुँच रहेको भन्दै थुनुवालाई छुटाइदिने आश्वासन दिएर एक लाख रुपैयाँ असुलेको आरोपमा रौतहटमा वडाध्यक्ष पदका एक प्रत्याशी पक्राउ परेका छन् । गरुडा नगरपालिका–९ श्रीपुरका वडाध्यक्ष पदका प्रत्याशी शेख हुस्नैनलाई ठगीसम्बन्धी कसुरमा पक्राउ गरी प्रहरीले अनुसन्धान अघि बढाएको हो । श्रीपुरमा केही दिनअघि भएको विवादका क्रममा प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा रामजन मियाँ पक्राउ परेका थिए ।
रामजन पक्राउ परेपछि हुस्नैनले उनकी श्रीमतीसँग प्रहरीसँग समन्वय गरी मुद्दा मिलाइदिने र थुनुवालाई छुटाउने भन्दै एक लाख रुपैयाँ लिएको प्रहरीको दाबी छ । तर हुस्नैनलाई रकम बुझाएपनि रामजन रिहा नभएपछि उनकी श्रीमतीले आफूलाई झुक्याएर रकम लिइएको भन्दै इलाका प्रहरी कार्यालय गरुडामा जाहेरी दिएकी थिइन् । उक्त जाहेरीका आधारमा प्रहरीले हुस्नैनलाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायब उपरीक्षक शंकरप्रसाद आचार्यले प्रहरीको नाम प्रयोग गरेर रकम उठाइएको विषयलाई गम्भीर रूपमा लिइएको बताए । जाहेरी परेपछि हुस्नैनलाई नियन्त्रणमा लिएर जिल्ला अदालत गौरबाट म्याद थप गरी घटनाबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए । घटनामा गरुडा नगरपालिका–९ का वर्तमान वडाध्यक्ष राजेश सहनीविरुद्ध पनि थुनुवालाई छुटाइदिने भन्दै रकम लिएको आरोपमा छुट्टै जाहेरी परेको प्रहरीले जनाएको छ ।
डीएसपी आचार्यका अनुसार सहनीमाथि लगाइएको आरोपबारे समेत अनुसन्धान अघि बढाइएको छ । तर वडाध्यक्ष सहनीले भने रामजनलाई छुटाउने नाममा आफूले कसैबाट कुनै रकम नलिएको दाबी गर्दै आफूमाथिको आरोप अस्वीकार गरेका छन् । प्रहरीका अनुसार हुस्नैन हाल इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा छन्। घटनामा अन्य व्यक्तिको संलग्नता भए–नभएको विषयमा समेत अनुसन्धान भइरहेको छ ।
प्रहरीको नाम, पहुँच र प्रभाव प्रयोग गरेर सर्वसाधारणबाट रकम असुल्ने कार्यमाथि अनुसन्धान अघि बढेपछि घटनाले स्थानीय तहको राजनीति र प्रहरीसँगको पहुँचको दुरुपयोगसम्बन्धी प्रश्नसमेत उठाएको छ । यद्यपि घटनाको वास्तविकता विस्तृत अनुसन्धान र कानुनी प्रक्रियाबाटै स्पष्ट हुने प्रहरीले जनाएको छ ।







प्रतिक्रिया दिनुहोस् !