वीरगंज (पर्सा), २५ भदौ । भोटेकोशी बाढीका कारण चीनतर्फ जोडिएका रसुवा र तातोपानी भन्सार नाका अवरुद्ध भएपछि त्यसको प्रत्यक्ष प्रभाव वीरगंज नाकाको आयातमा देखिएको छ । उत्तरी नाका बन्द हुँदा चीनबाट आउने कतिपय मालवस्तु वैकल्पिक मार्ग हुँदै वीरगंजबाट भित्रिन थालेपछि वीरगंज भन्सार कार्यालयमा आयातको चाप बढेको हो । वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनालीका अनुसार पछिल्लो समय वीरगंज नाकाबाट हुने आयात दैनिक करिब ७० प्रतिशतले बढेको छ ।
उनका अनुसार उत्तरी नाका अवरुद्ध भएपछि चाडपर्वलाई लक्षित गरेर पहिले नै बुकिङ गरिएका सामानसमेत व्यापारीले नाका परिवर्तन गरी दक्षिणतर्फबाट नेपाल भित्र्याउन थालेका छन् । ‘दसैँ, तिहार र छठ नजिकिँदै गर्दा लत्ताकपडा, जुत्ता, सजावटका सामग्री, ड्राइफ्रुट, चकलेटलगायतका वस्तुको आयात स्वाभाविक रूपमा बढ्छ,’ प्रमुख भन्सार प्रशासक मैनालीले भने, ‘तर यसपटक उत्तरतर्फका दुई प्रमुख नाका अवरुद्ध भएकाले वीरगन्ज नाकामा थप चाप परेको छ ।’
चाडपर्वका सामान दक्षिणी नाकाबाट भित्रिँदै
रसुवा र तातोपानी नाका अवरुद्ध भएपछि व्यापारीहरूले चाडपर्वका लागि मगाइएका सामान वैकल्पिक नाकाबाट भएपनि नेपाल ल्याउन थालेका छन् । उत्तरी नाकाबाट ल्याउने योजना बनाइएका कतिपय चिनियाँ सामानसमेत अहिले वीरगंजतर्फ मोडिन थालेका छन् । मैनालीका अनुसार उत्तरी नाका लामो समयसम्म सञ्चालनमा आउन नसके वीरगंज भन्सारको कारोबार अझ बढ्ने सम्भावना छ । आयातको मात्रा बढेसँगै राजस्व संकलनमा समेत सकारात्मक प्रभाव पर्ने उनको भनाइ छ ।
वीरगंज भन्सारअन्तर्गतको सिर्सिया सुक्खा बन्दरगाहबाट रेलमार्फत चीनबाट आएका केही मालवस्तु नेपाल भित्रिनसमेत सुरु भइसकेको छ । चाडपर्व लक्षित सामग्रीसँगै इन्धन, सवारीसाधन, निर्माण सामग्री, खाने तेललगायतका वस्तुको आयात नियमित रहेकाले भदौ महिनाको राजस्व असुली उत्साहजनक देखिएको भन्सार कार्यालयले जनाएको छ । भदौ महिनाका लागि वीरगंज भन्सार कार्यालयले २३ अर्ब ५२ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य निर्धारण गरेको थियो । प्रमुख भन्सार प्रशासक मैनालीका अनुसार भदौ २४ गते बुधबारसम्म लक्ष्यको ९३ दशमलव ३७ प्रतिशत राजस्व संकलन भइसकेको छ ।
‘आयातको मात्रा बढेपछि राजस्व असुलीमा पनि सुधार आएको छ,’ मैनालीले भने, ‘अहिले दैनिक राजस्व असुली करिब ७० प्रतिशतले बढेको तथ्यांक छ ।’ चालु आर्थिक वर्षमा वीरगंज भन्सार कार्यालयले २ खर्ब ९३ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य पाएको छ । भोटेकोशी बाढीपछि केही समय राजस्व संकलनमा कमी आए पनि चिनियाँ सामान वैकल्पिक नाकाबाट भित्रिन थालेपछि कारोबारमा पुनः वृद्धि भएको भन्सार कार्यालयले जनाएको छ ।
सडक अवरुद्ध हुँदा ढुवानी खर्च बढ्यो, बजार मूल्यमा दबाबको जोखिम
भोटेकोशी बाढीले राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य सडक अवरुद्ध भएपछि मालवाहक सवारीसाधनले वैकल्पिक सडक प्रयोग गर्नुपर्ने अवस्था छ । त्यसले ढुवानीको समय र लागत दुवै बढाएको छ । त्यसैगरी, एउटा कन्टेनरमा ल्याइने सामान अहिले सडक तथा ढुवानीको अवस्थाका कारण तीनवटा सवारीसाधनमा राखेर ओसारपसार गर्नुपर्ने अवस्था सिर्जना भएको बताइएको छ । ढुवानी खर्च बढ्दा त्यसको असर चाडपर्वका बेला बजारमा उपभोक्ताले तिर्नुपर्ने मूल्यमा पर्न सक्ने भन्दै उपभोक्तावादी संघसंस्थाले चिन्ता व्यक्त गरेका छन् ।
विपद्को अवस्थालाई देखाएर व्यापारीले मनपरी ढंगले वस्तुको मूल्य बढाउन सक्ने सम्भावनाप्रति समेत उपभोक्तावादी संस्थाहरूले सचेत गराएका छन् । उनीहरूले बजारमा नियमित अनुगमन गर्न र कृत्रिम रूपमा मूल्य बढाउने प्रवृत्तिमाथि निगरानी बढाउन सम्बन्धित निकायसँग आग्रह गरेका छन् । विशेषगरी दसैँ, तिहार र छठजस्ता ठूला पर्व नजिकिँदै गर्दा बजारमा वस्तुको माग बढ्ने भएकाले विपद्का कारण बढेको ढुवानी लागतलाई बहाना बनाएर अनुचित मूल्यवृद्धि हुन नदिन बजार अनुगमन प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको छ ।
उत्तरका दुई प्रमुख नाका बन्द हुँदा वीरगंजमा आयातको चाप बढेको छ र त्यसले तत्कालका लागि भन्सार राजस्व बढाएको देखिन्छ । तर यही विपद्को असर ढुवानी हुँदै उपभोक्ताको भान्सासम्म पुगेर बजार मूल्य बढाउने माध्यम नबनोस् भन्ने विषयमा अब सरकारी निकायको निगरानी अझ महत्वपूर्ण हुनेछ ।







प्रतिक्रिया दिनुहोस् !