वीरगंज (पर्सा), २५ भदौ । वीरगंजस्थित क्यासिनोबाट पक्राउ परेका इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रदीप पौडेल निलम्बनमा परेपछि प्रहरी प्रधान कार्यालयले उनको स्थानमा नयाँ प्रहरी निरीक्षक खटाएको छ । प्रहरी प्रधान कार्यालयले इलाका प्रहरी कार्यालय गजुरीबाट काज सरुवा गर्दै प्रहरी निरीक्षक भानुभक्त अर्याललाई इलाका प्रहरी कार्यालय पोखरियाको जिम्मेवारी दिएको हो । अर्यालले बिहीबारदेखि पोखरियाको कमाण्ड सम्हालेका छन् ।
पोखरियामा कार्यरत प्रहरी निरीक्षक पौडेल क्यासिनोभित्रै पक्राउ परेपछि प्रहरी संगठनले उनलाई निलम्बन गरेको थियो । त्यसपछि रिक्त भएको पोखरियाको नेतृत्वमा अर्याललाई पठाइएको हो । पौडेललाई वीरगंज–१४ गण्डकस्थित क्लार्क रिसोर्टमा सञ्चालित क्यासिनोबाट पक्राउ गरिएको थियो । भदौ २० गते राति पर्साका प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराई आफैंले क्यासिनोमा छापा मार्दा पौडेलसहित ८ जना पक्राउ परेका थिए ।
क्यासिनोमा नेपाली नागरिकले जुवा खेलिरहेको सूचनाका आधारमा एसपी भट्टराईको नेतृत्वमा छापा मारिएको थियो । छापा क्रममा ड्युटीमा रहेका प्रहरी निरीक्षक पौडेलसमेत क्यासिनो परिसरबाट पक्राउ परेपछि घटना थप गम्भीर बनेको थियो । क्यासिनो प्रकरणमा पक्राउ परेका पौडेलसहित ८ जनालाई हाल जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।
प्रहरी संगठनकै जिम्मेवार अधिकृत क्यासिनोबाट पक्राउ परेको घटनाले पर्साको सुरक्षा संयन्त्रमाथि गम्भीर प्रश्न उठाएको छ । विशेषगरी प्रहरी अधिकृत नै जुवा खेल्ने स्थलमा भेटिनु र त्यसपछि निलम्बनमा पर्नुले प्रहरी आचरण तथा जिम्मेवारीमाथि बहस चर्किएको छ । यही प्रकरणपछि पोखरियाको प्रहरी कमाण्ड परिवर्तन गरिएको हो । नयाँ जिम्मेवारी पाएका प्रहरी निरीक्षक भानुभक्त अर्यालले बिहीबारदेखि कार्यालयको नियमित कमाण्ड सम्हाल्दै शान्ति–सुरक्षा तथा अपराध नियन्त्रणको जिम्मेवारी अघि बढाएका छन् ।







प्रतिक्रिया दिनुहोस् !