वीरगंज (पर्सा), २३ भदौ । तत्कालीन जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्कालाई टेलिफोनमार्फत धम्की दिएको आरोपमा नेकपाका नेता अशोक यादव पक्राउ परेका छन् । मधेश प्रदेश प्रहरी कार्यालयका डीआईजी ओम अधिकारीले यादव पक्राउ परेको पुष्टि गरेका छन् । उनका अनुसार तत्कालीन एसपी खड्कालाई धम्की दिएको घटनासँग जोडिएको आरोपमा यादवलाई नियन्त्रणमा लिइएको हो ।
घटना २०८२ साल असारको हो । त्यतिबेला यादवले प्रहरी उपरीक्षक खड्कालाई फोन गरी अपशब्द प्रयोग गर्दै धम्की दिएको भनिएको अडिओ सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो । उक्त अडिओमा खड्कालाई ‘तराईमा लुट्न आएको लुटेरा’ भन्दै आपत्तिजनक शब्द प्रयोग गरिएको सुनिएको थियो ।
अडिओ सार्वजनिक भएपछि प्रहरीले घटनाको अनुसन्धान अघि बढाउँदै यादवको खोजी थालेको थियो । त्यस क्रममा उनी फरार रहेको प्रहरीको दाबी थियो । लामो समयपछि यादवलाई पक्राउ गरिएको डीआईजी अधिकारीले जानकारी दिए । प्रहरीका अनुसार धम्की दिइएको समयमा यादव जनता समाजवादी पार्टी (जसपा)मा आबद्ध थिए । पछिल्लो समय भने उनी नेकपामा प्रवेश गरेका छन् ।
यादवमाथि लागेको आरोपबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ । पक्राउपछि उनलाई कानुनी प्रक्रियाअनुसार अनुसन्धान तथा आवश्यक कारबाही अघि बढाइने प्रहरीको भनाइ छ ।







प्रतिक्रिया दिनुहोस् !