मटिहानी (महोत्तरी), २२ भदौ । महोत्तरीको मटिहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालयले रसुवाको भोटेकोशी बाढी तथा प्राकृतिक विपत्तिमा अभिभावक गुमाएका १० जना छात्रको कक्षा ८ देखि १२ सम्मको सम्पूर्ण शैक्षिक दायित्व लिने घोषणा गरेको छ । सरकारले रसुवा बाढी तथा प्राकृतिक विपत्तिमा ज्यान गुमाएकाहरूको सम्झनामा सोमबार राष्ट्रिय शोक दिवस मनाएका अवसरमा विद्यालयले विपत्तिबाट प्रभावित बालबालिकाको शिक्षाका लागि यस्तो घोषणा गरेको हो ।
विद्यालयका प्रधानाध्यापक तथा ‘गुरुकुलका गोठालो’ ईश्वरी पौडेलले जारी गरेको वक्तव्यमा विपत्तिका कारण धेरै बालबालिका अभिभावकविहीन बनेको उल्लेख गर्दै उनीहरूको शिक्षा र भविष्य सुनिश्चित गर्नु सबैको सामूहिक मानवीय दायित्व भएको बताएका छन् । विद्यालयले अभिभावक गुमाएका १० जना छात्रलाई भर्ना गरी कक्षा ८ देखि १२ सम्मको शिक्षा, आवश्यक शैक्षिक सामग्रीलगायत सम्पूर्ण शैक्षिक खर्च तथा व्यवस्थापनको जिम्मेवारी लिने जनाएको छ ।
विद्यालयले विद्यार्थीलाई औपचारिक शिक्षा प्रदान गर्ने मात्र नभई उनीहरूको भविष्य निर्माणमा अभिभावकीय भूमिका र आत्मीयता प्रदान गर्ने प्रतिबद्धता पनि जनाएको छ । प्रधानाध्यापक पौडेलले विपत्तिबाट प्रभावित बालबालिका भविष्यमा देशका सक्षम नागरिक बन्न सक्ने भएकाले उनीहरूको हातमा कलम र आँखामा भविष्यको सपना जगाउन आवश्यक रहेको बताएका छन् । विपत्तिको समयमा सबैले आफ्नो क्षमता र सामर्थ्यअनुसार प्रभावित बालबालिकाको भविष्य निर्माणमा सहयोग गर्नुपर्नेमा जोड दिँदै उनले यस अभियानमा सहकार्य गर्न सबैलाई आह्वान गरेका छन् ।
मटिहानी नगरपालिका–७ मा रहेको राजकीय संस्कृत माध्यमिक विद्यालय विसं १७५० मा सेन वंशको समयमा स्थापना भएको र नेपालकै पहिलो गुरुकुलका रूपमा परिचित विद्यालय हो । विद्यालयले ‘एक बालकको शिक्षा जोगाउनु एउटा परिवारको भविष्य जोगाउनु सरह हो’ भन्ने भावसहित रसुवा विपत्तिबाट अभिभावकविहीन बनेका १० छात्रको शिक्षा र भविष्य निर्माणमा सहयात्री बन्ने प्रतिबद्धता जनाएको छ ।
यसैबीच, विद्यालयले भोटेकोशी बाढी तथा प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन तथा प्रभावित सबैमा धैर्य र शक्ति प्राप्त होस् भन्ने कामना गरेको छ ।







प्रतिक्रिया दिनुहोस् !