काठमाडौँ, २२ भदौ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले बारा–पर्सा औद्योगिक करिडोरका उद्योगले सिर्सिया खोलामा गरिरहेको प्रदूषण तत्काल रोक्न एक साताको समयसीमा दिएकी छिन् । सोमबार मन्त्रालयमा उद्योगीहरूसँग छलफल गर्दै मन्त्री कुमारीले वातावरण संरक्षणसम्बन्धी कानुनी मापदण्ड उल्लंघन गर्ने उद्योगमाथि कारबाही गर्ने चेतावनी दिइन् ।
सिमरा र वीरगंज क्षेत्रका केही उद्योगले प्रशोधन नगरी ढल तथा औद्योगिक फोहोर खोलामा मिसाउँदा सिर्सिया खोला प्रदूषित बनेको भन्दै स्थानीयस्तरबाट लामो समयदेखि गुनासो हुँदै आएको छ । मन्त्री गौरी कुमारीले उद्योगीहरूलाई तत्काल सुधारका काम थाल्न निर्देशन दिँदै एक सातापछि मन्त्रालयको विशेष टोलीले स्थलगत निरीक्षण गर्ने बताइन् । निरीक्षणपछि पनि सुधार नभएको पाइएमा कानुनअनुसार प्रक्रिया अघि बढाइने उनको भनाइ छ ।
सिर्सिया खोलाको प्रदूषणका कारण स्थानीय बासिन्दा, किसान तथा पशुपालनमा समेत असर परेको भन्दै खोला संरक्षणको माग हुँदै आएको छ ।







प्रतिक्रिया दिनुहोस् !