वीरगंज (पर्सा), १९ भदौ । वीरगंज महानगरपालिका–१६ स्थित भन्सार क्षेत्रका दुई होटलमा प्रहरीले छापा मारेर ५ महिलासहित ८ जनालाई नियन्त्रणमा लिएको छ । होटलमा अनैतिक गतिविधि भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले बुधबार दिउँसो कारबाही गरेको हो ।
वडा प्रहरी कार्यालय वीर्ताबाट प्रहरी निरीक्षक विक्रम सुवेदीको नेतृत्वमा खटिएको प्रहरी टोलीले भन्सार क्षेत्रका ‘अभिषेक होटल’ र ‘बेदामी होटल’मा एकैपटक छापा मारेको थियो । प्रहरीका अनुसार दुवै होटलमा गरिएको कारबाहीका क्रममा ५ महिला र ३ पुरुष गरी कुल ८ जना नियन्त्रणमा परेका छन् । नियन्त्रणमा लिइएकामध्ये २ भारतीय महिला र २ भारतीय पुरुष रहेको प्रहरीले जनाएको छ ।
बाँकी ४ जनाको पहिचान भने प्रहरीले तत्काल सार्वजनिक गरेको छैन । नियन्त्रणमा रहेका सबैसँग घटनाको प्रकृति र होटलमा उनीहरूको संलग्नताबारे प्रहरीले आवश्यक सोधपुछ गरिरहेको जनाएको छ । प्रहरीले प्रारम्भिक अनुसन्धानपछि घटनाको थप तथ्य खुल्ने जनाएको छ । सोधपुछ तथा अनुसन्धानबाट प्राप्त विवरणका आधारमा सम्बन्धित व्यक्तिविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीको भनाइ छ ।







प्रतिक्रिया दिनुहोस् !