वीरगंज (पर्सा), ३० असार । पर्साको कालिकामाई गाउँपालिकाका कम्प्युटर अपरेटर चन्दन कुमार चौरसियामाथि कार्यालयभित्रै भएको कुटपिट घटनाको एक सातापछि पनि किटानी जाहेरी दर्ता नभएको भन्दै गाउँपालिकाका कर्मचारीहरूले प्रहरी प्रशासनप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन् । उनीहरूले दोषीलाई कानुनी दायरामा ल्याउन माग गर्दै आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएका छन् । मंगलबार वीरगंजमा आयोजित पत्रकार सम्मेलनमा गाउँपालिकाका कर्मचारीहरूले घटना भएको भोलिपल्ट नै इलाका प्रहरी कार्यालय पोखरिया र जिल्ला प्रहरी कार्यालय पर्सामा किटानी जाहेरी दर्ताका लागि पुगे पनि हालसम्म मुद्दा दर्ता नभएको आरोप लगाए ।
उनीहरूका अनुसार यसअघि गरिएको पेनडाउन आन्दोलनबाट पनि कुनै सुनुवाइ नभएपछि थप दबाबमूलक कार्यक्रम घोषणा गर्न बाध्य भएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव कुमार अधिकारीले कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष सञ्जय कुमार पटेल, गाउँपालिका–२ निवासी राजनिश कुशवाहा र हिरालाल राउत कुर्मीविरुद्ध आपराधिक उपद्रव मुद्दामा किटानी जाहेरी दिएको भए पनि प्रहरीले दर्ता नगरेको बताए ।
उनका अनुसार घटनाको सीसीटीभी फुटेजमा कार्यालयभित्रै कर्मचारीमाथि कुटपिट भएको दृश्य स्पष्ट देखिए पनि प्रहरी प्रशासनले आवश्यक कानुनी प्रक्रिया अघि बढाएको छैन । यसले कर्मचारीहरूमा असुरक्षाको भावना बढाएको र कार्यालयमा त्रासको वातावरण सिर्जना भएको उनको भनाइ छ । अधिकारीले प्रहरी प्रशासनको भूमिकाप्रति प्रश्न उठाउँदै भने, ‘पहिले इलाका प्रहरी कार्यालयले जिल्ला जानुस् भन्यो, जिल्लाले फेरि इलाकामै फर्कायो । अन्ततः जाहेरी बुझिएपनि दर्ता गरिएन । जिल्ला प्रहरी प्रमुखसँग भेट्न खोज्दा पनि सम्भव भएन । कर्मचारीकै उजुरी दर्ता हुन नसक्ने अवस्था छ भने सर्वसाधारणले न्याय कसरी पाउलान् भन्ने गम्भीर प्रश्न उठेको छ ।’
उनले घटनाले कर्मचारीहरूको मनोबल कमजोर बनाएको, गाउँपालिकाको नियमित प्रशासनिक कामकाज प्रभावित भएको र सुशासनमाथि समेत प्रतिकूल असर परेको बताए । गाउँपालिकाका प्रशासन शाखा प्रमुख सरोज कुमार साहका अनुसार आन्दोलनको नयाँ कार्यक्रमअन्तर्गत असार ३१ गतेदेखि साउन १ गतेसम्म कर्मचारीहरूले कालोपट्टी बाँधेर बिहान ९ बजेदेखि १२ बजेसम्म मात्रै कार्यालय सञ्चालन गर्नेछन् । त्यसपछि साउन ४ र ५ गते जिल्ला प्रशासन कार्यालय पर्साअगाडि गाउँपालिका तथा वडा कार्यालयका कर्मचारीहरूको सहभागितामा धर्ना कार्यक्रम आयोजना गरिनेछ ।
यति हुँदाहुँदै पनि दोषीमाथि कानुनी कारबाही अघि नबढे साउन ६ गते गाउँपालिका अन्तर्गतका सबै कार्यालय पूर्ण रूपमा बन्द गरी कार्यालयको साँचो जिल्ला प्रशासन कार्यालय पर्सामा बुझाउने निर्णय गरिएको पनि उनले जानकारी दिए ।
यसअघि पनि कर्मचारीहरूले विरोधस्वरूप गाउँपालिकाको सम्पूर्ण प्रशासनिक सेवा ठप्प पारेका थिए । आन्दोलनका क्रममा दुई दिनसम्म विद्यालय र स्वास्थ्य संस्थासमेत बन्द गरिएपछि व्यापक आलोचना भएको थियो । त्यसपछि ती अत्यावश्यक सेवा पुनः सञ्चालनमा ल्याइएको थियो । पीडित कम्प्युटर अपरेटर चन्दन कुमार चौरसियाले आफू कार्यालय समयमै योजनाबद्ध रूपमा आक्रमणको शिकार भएको दाबी गर्दै घटनामा संलग्न सबैलाई कानुनी दायरामा ल्याउन, सरकारी कर्मचारीको सुरक्षा सुनिश्चित गर्न तथा दोषीलाई कानुनअनुसार कडा कारबाही गर्न माग गरे ।
पत्रकार सम्मेलनमा गाउँपालिकाका कर्मचारी, सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा विभिन्न शाखाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । सोही दिन कर्मचारीहरूको टोलीले पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई भेटेर पनि जाहेरी दर्ता हुन नसकेको विषयमा गम्भीर ध्यानाकर्षण गराउँदै आवश्यक पहल गर्न आग्रह गरेको जनाएको छ । उता, जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्र मल्लले कर्मचारी पक्षबाट आपराधिक उपद्रवसम्बन्धी जाहेरी प्राप्त भएको पुष्टि गर्दै घटनाबारे अनुसन्धान जारी रहेको बताएका छन् ।







प्रतिक्रिया दिनुहोस् !