वीरगंज (पर्सा), २४ असार । भारत–नेपाल सीमास्थित रक्सौल नाकाबाट आवश्यक यात्रा कागजात तथा वैध भिसाबिनै नेपाल प्रवेश गर्ने प्रयास गरेकी एक युक्रेनी नागरिकलाई भारतीय सुरक्षा निकायले नियन्त्रणमा लिएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार भारतको बिहार राज्यअन्तर्गत पूर्वी चम्पारण जिल्लामा रहेको रक्सौल सीमा क्षेत्रमा नेपालतर्फ प्रवेश गर्न खोजिरहेकी ती महिलालाई भारत प्रहरी र सशस्त्र सीमा बल (एसएसबी)को संयुक्त टोलीले नियन्त्रणमा लिएको हो ।
प्रारम्भिक अनुसन्धानका क्रममा ती महिलासँग नेपाल प्रवेशका लागि आवश्यक यात्रा कागजात र वैध भिसा नभएको खुलेको भारतीय सुरक्षा अधिकारीहरूले जनाएका छन् । त्यसपछि उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको बताइएको छ । घटनाको संवेदनशीलतालाई मध्यनजर गर्दै भारतीय गुप्तचर तथा सुरक्षा निकायले महिलासँग विस्तृत सोधपुछ गरिरहेका छन् । उनी भारतसम्म कसरी पुगिन्, नेपाल प्रवेश गर्न खोज्नुको उद्देश्य के थियो तथा यस घटनामा कुनै व्यक्ति वा संगठित सञ्जालको संलग्नता छ वा छैन भन्ने विषयमा अनुसन्धान केन्द्रित रहेको अधिकारीहरूको भनाइ छ ।
यस घटनापछि रक्सौल–नेपाल सीमा क्षेत्रमा सुरक्षा निगरानी थप कडा बनाइएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । यद्यपि अनुसन्धान प्रक्रिया जारी रहेकाले घटनासम्बन्धी थप विवरण आउन बाँकी रहेको जनाइएको छ ।







प्रतिक्रिया दिनुहोस् !