मलंगवा (सर्लाही), २४ असार । मधेश प्रदेश सरकारले सञ्चालन गरिरहेको होटल तथा खाद्य प्रतिष्ठान अनुगमन अभियानअन्तर्गत सर्लाहीका करिब एक दर्जन होटल, खाजा घर र मिठाई पसल कारबाहीमा परेका छन् । खाद्य गुणस्तरमा लापरबाही, अस्वच्छ भान्सा र उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने गतिविधि गरेको पाइएपछि ती व्यवसायीबाट ४ लाख ३७ हजार रुपैयाँ जरिवाना असुल गरिएको हो ।
गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोको नेतृत्वमा जिल्ला प्रशासन, प्रहरी र प्राविधिक टोलीले मंगलबार लालबन्दी, हरिवन, नयाँरोड, बागमती र बरहथवालगायत क्षेत्रका होटल तथा फास्टफुड पसलमा अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा अधिकांश प्रतिष्ठानमा सरसफाइको अभाव, गुणस्तरहीन खाद्य सामग्रीको प्रयोग, पटक–पटक प्रयोग गरिएको तेलमा खाना पकाउने तथा मापदण्डविपरीत खाद्य वस्तु बिक्री गर्ने गरेको भेटिएको टोलीले जनाएको छ । केही होटललाई तत्काल सुधार गर्न चेतावनी दिइएको छ भने प्रयोग गर्न अयोग्य तेल, अखाद्य सामग्री र बिग्रँदै गरेका तरकारी नष्ट गराइएको सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले जानकारी दिए ।
अनुगमनका क्रममा केही व्यवसायीसँग सामान्य विवाद भए पनि उपभोक्ताको स्वास्थ्यसँग जोडिएको विषयमा कुनै सम्झौता नगर्ने मन्त्री महतोले स्पष्ट पारे । उनले नागरिकले सुरक्षित र गुणस्तरीय खाद्य पदार्थ उपभोग गर्न पाउने अधिकार सुनिश्चित गर्न प्रदेशभर यस्ता अनुगमनलाई निरन्तरता दिइने बताए ।
मन्त्री महतोले होटल तथा खाद्य व्यवसायीलाई सरकारले तोकेको मापदण्ड पूर्ण रूपमा पालना गरेर मात्र व्यवसाय सञ्चालन गर्न आग्रह गर्दै उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने कार्य कुनै पनि हालतमा स्वीकार्य नहुने चेतावनी दिए । धनुषाबाट सुरु गरिएको खाद्य गुणस्तर अनुगमन अभियान सर्लाहीपछि मधेश प्रदेशका अन्य जिल्लामा पनि विस्तार गरिने प्रदेश सरकारले जनाएको छ ।







प्रतिक्रिया दिनुहोस् !