वीरगंज (पर्सा), २४ असार । पर्साको पोखरिया नगरपालिकास्थित प्रादेशिक अस्पतालमा एक्स–रे र प्रयोगशाला (ल्याब) सेवा करिब एक वर्षदेखि प्रभावकारी रूपमा सञ्चालनमा नरहेकै अवस्थामा ती सेवामा कार्यरत केही कर्मचारीलाई जोखिम भत्ता वितरण गरिएको तथ्य बाहिरिएपछि आर्थिक अनियमितताको आशंका उत्पन्न भएको छ ।
स्रोतका अनुसार अस्पतालको एक्स–रे तथा ल्याब शाखामा कार्यरत राज कुशवाहा, राजु मण्डल, दिपक चौरसिया र सेराजुल अंसारीले जनही ८० हजार रुपैयाँका दरले जोखिम भत्ता प्राप्त गरेका छन् । सेवा नै सञ्चालनमा नरहेको अवस्थामा जोखिम भत्ता वितरण गरिएको भन्दै स्थानीयस्तरमा सार्वजनिक स्रोतको दुरुपयोग भएको आरोप लागेको छ ।
सरोकारवालाहरूले सेवा बन्द रहेको अवधिमा जोखिम भत्ता उपलब्ध गराइनु प्रचलित व्यवस्था र मापदण्डविपरीत भएको दाबी गरेका छन् । उनीहरूले भत्ता वितरणको औचित्यमाथि प्रश्न उठाउँदै सम्पूर्ण प्रक्रियाको निष्पक्ष छानबिन गर्न सम्बन्धित निकायसँग माग गरेका छन् । स्रोतका अनुसार अस्पताल प्रशासनका जिम्मेवार अधिकारी तथा लेखा शाखाबीचको मिलेमतोमा उक्त भत्ता वितरण गरिएको हुन सक्ने आशंका गरिएको छ । लामो समयदेखि एक्स–रे र ल्याब सेवा प्रभावकारी रूपमा सञ्चालनमा नआए पनि कर्मचारीलाई जोखिम भत्ता उपलब्ध गराइनुले अनियमितताको आशंका थप बलियो बनेको स्थानीयको भनाइ छ ।
स्थानीयवासी तथा सरोकारवालाले जोखिम भत्ता वितरणको आधार, भुक्तानी पाउने कर्मचारीको विवरण र रकम निकासासम्बन्धी सम्पूर्ण प्रक्रिया सार्वजनिक गर्न माग गरेका छन् । साथै घटनाको स्वतन्त्र र निष्पक्ष अनुसन्धान गरी तथ्यका आधारमा दोषी देखिएकामाथि कानुनबमोजिम कारबाही गर्न उनीहरूले आग्रह गरेका छन् ।
यस विषयमा अस्पतालको एक्स–रे शाखामा कार्यरत कर्मचारी राजु मण्डलले आफूहरूले जोखिम भत्ता बुझेको स्वीकार गरेका छन् । उनका अनुसार एक्स–रे सेवा चैत महिनाको अन्तिम सातादेखि मात्र बन्द भएको हो । मण्डलले एक्स–रे मेसिन पूर्ण रूपमा बिग्रिएको नभई त्यसको फिल्टरमा समस्या आएपछि सेवा प्रभावित भएको दाबी गरेका छन् । यद्यपि सेवा बन्द रहेको वास्तविक अवधि र जोखिम भत्ता वितरणको औचित्यबारे भने विभिन्न दाबी सार्वजनिक भइरहेका छन् । 







प्रतिक्रिया दिनुहोस् !