कलैया (बारा), २२ असार । यातायात व्यवस्था कार्यालय कलैयाभित्र सेवाग्राहीमाथि भएको भनिएको दुर्व्यवहारको एक भिडियो सार्वजनिक भएपछि कार्यालय प्रमुखको कार्यशैलीमाथि व्यापक प्रश्न उठेको छ । तीन चार महिनाअघि कार्यालयभित्र भएको घटनाको सीसीटीभी फुटेज हाल सामाजिक सञ्जालमा भाइरल बनेपछि सेवाग्राहीसँग सरकारी कार्यालयको व्यवहार, सार्वजनिक सेवामा उत्तरदायित्व र सुशासनको विषय फेरि चर्चामा आएको हो ।
सार्वजनिक भएको भिडियोमा यातायात व्यवस्था कार्यालय कलैयाका कार्यालय प्रमुख चिन्तन आचार्यले एक सेवाग्राहीको घाँटी थिचेर हातपात गरेको जस्तो देखिने दृश्य कैद भएको छ । भिडियोमा कार्यालयभित्र रहेका केही व्यक्तिहरूले ती सेवाग्राहीलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको र त्यसक्रममा कार्यालय प्रमुख स्वयं कुर्सीबाट उठेर सेवाग्राहीतर्फ पुग्ने दृश्य देखिन्छ ।
घटनाबारे सार्वजनिक गरिएको विवरणअनुसार सेवाग्राहीले कार्यालयभित्र भइरहेको भनिएको अनियमितता तथा भ्रष्टाचारसम्बन्धी गतिविधिको भिडियो खिच्न खोजेपछि विवाद सुरु भएको बताइएको छ । त्यसपछि कार्यालय प्रमुख र सेवाग्राहीबीच भनाभन भएको र विवाद चर्किँदै जाँदा कार्यालयका अन्य कर्मचारी तथा त्यहाँ उपस्थित ट्राफिक प्रहरी पनि घटनामा संलग्न भएको आरोप लगाइएको छ ।
भाइरल भिडियोमा कार्यालय सहयोगीले सेवाग्राहीलाई पछाडिबाट टाउकोमा हानेको, त्यस पश्चात सेवाग्राही सोफामा खसेपछि त्यहाँ बसेका ट्राफिक प्रहरी बरिष्ठ नायब निरीक्षकले उनलाई नियन्त्रणमा लिन खोजेको तथा त्यसपछि कार्यालय प्रमुखले उनको घाँटी समातेर हातपात गरेको जस्तो देखिने दृश्य देखिन्छ । भिडियोमा सेवाग्राहीको मोबाइलसमेत खोसिएको देखिएको छ ।
स्रोतका अनुसार उक्त विवाद त्यसबेला पीडितसँग प्रमाण नभएको कारण दबाइएको थियो तर अहिले भिडियो नै सार्वजनिक भएपछि कार्यालय प्रमुखको कर्तुत छताछुल भएको हो । सेवाग्राहीले खिचेको भिडियो हाकिमले आफै डिलिट गरेका थिए तर घटनाको केही महिनापछि कार्यालयभित्रको सीसीटीभी फुटेज बाहिरिएपछि विषय पुनः सार्वजनिक बहसको केन्द्रमा पुगेको हो । कार्यालयकै एक कर्मचारीले उक्त भिडियो बाहिर ल्याएको बताइएको छ । भिडियो सार्वजनिक भएपछि वीरगंजबाट सञ्चालित ‘प्रहार डेली’ अनलाइन समाचार पोर्टलले त्यसलाई आफ्नो फेसबुकको आधिकारिक पेजमा पोष्ट गरेको छ । त्यसपछि सामाजिक सञ्जालमा भिडियो तीव्र रूपमा फैलिएको छ र सरकारी कार्यालयभित्र सेवाग्राहीमाथि भएको भनिएको व्यवहारको व्यापक आलोचना भइरहेको छ ।
सामाजिक सञ्जाल प्रयोगकर्ताले कार्यालय प्रमुखको व्यवहारलाई सरकारी मर्यादाविपरीत भएको टिप्पणी गरेका छन् । त्यस्तै घटनास्थलमा उपस्थित ट्राफिक प्रहरीको भूमिकामाथि पनि प्रश्न उठाइएको छ । कतिपयले प्रहरीले विवाद शान्त पार्नुको सट्टा सेवाग्राहीलाई नियन्त्रण गर्न सहयोग गरेको आरोप लगाएका छन् । यसले गर्दा ट्राफिक प्रहरी र यातायात कार्यालयको कर्मचारीहरुको मिलोमतोमा सेवाग्राहीमाथि दुर्व्यवहार भएको प्रष्ट देखिन्छ ।
यातायात व्यवस्था कार्यालय कलैया स्थापना भएयता विभिन्न विवादले पटक–पटक चर्चा पाउँदै आएको छ । यसअघि पनि कार्यालयभित्र कर्मचारीबीच विवाद, सेवाग्राहीसँग दुर्व्यवहार तथा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी अनियमितताका आरोपहरू सार्वजनिक हुँदै आएका छन् । सार्वजनिक सेवाप्रति नागरिकको विश्वास कायम राख्न सरकारी कार्यालयभित्र हुने हरेक गतिविधि कानुन, मर्यादा र सेवामुखी व्यवहारअनुसार सञ्चालन हुनुपर्ने विज्ञहरूको भनाइ छ । सरकारी कार्यालयमा सेवा लिन आउने नागरिकमाथि कुनैपनि प्रकारको दुर्व्यवहार भएको देखिए वा त्यस्तो आरोप लागे त्यसको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्नु सम्बन्धित निकायको दायित्व हुने उनीहरूको धारणा छ ।
यसैबीच, भाइरल भिडियोको सत्यता, त्यसको स्रोत, घटनाको वास्तविक अवस्था तथा संलग्न व्यक्तिहरूको भूमिकाबारे प्रदेश सरकार, सम्बन्धित मन्त्रालय तथा सुरक्षा निकायले छानबिन गरी आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने माग समेत उठ्न थालेको छ । घटनाको वस्तुगत अनुसन्धानपछि मात्रै वास्तविक जिम्मेवारी निर्धारण हुने भएकाले सम्बन्धित निकायबाट शीघ्र छानबिनको अपेक्षा गरिएको छ ।







प्रतिक्रिया दिनुहोस् !