वीरगंज (पर्सा), ११ असार । पर्साको पकाहामैनपुर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ३५ करोड २४ लाख ७५ हजार रुपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको १५औँ गाउँसभामा नीति तथा कार्यक्रमसहित उक्त बजेट प्रस्तुत गरिएको हो । गाउँसभा बैठकमा उपाध्यक्ष सर्फुनेशा खातुनको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहले आगामी आर्थिक वर्षको आय–व्यय अनुमान प्रस्तुत गरेका थिए ।
बजेटले कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, युवा रोजगार तथा भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको जनाएको छ । गाउँपालिका अध्यक्ष सुरेश मेहताले स्थानीय आवश्यकता र विकासका लक्ष्यलाई ध्यानमा राखेर नीति तथा कार्यक्रम तयार गरिएको बताउँदै कृषि उत्पादन वृद्धि, शिक्षा तथा स्वास्थ्य सेवाको गुणस्तर सुधार, युवाका लागि रोजगारीका अवसर सिर्जना तथा पूर्वाधार विस्तारमा विशेष जोड दिइएको जानकारी दिए । उनको अध्यक्षतामा सम्पन्न गाउँसभामा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूले आगामी वर्षको नीति तथा कार्यक्रम सफल कार्यान्वयनका लागि शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा उपाध्यक्ष सर्फुनेशा खातुन, प्रमुख प्रशासकीय अधिकृत देवनाथ साह, पूर्व गाविस अध्यक्ष नसुरल्लाह मियाँ, विभिन्न वडाका अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय अगुवाहरूको उपस्थिति रहेको थियो । त्यसैगरी गाउँपालिका कर्मचारी, स्वास्थ्यकर्मी, शिक्षक, पत्रकार, सुरक्षाकर्मी, बुद्धिजीवी तथा अन्य सरोकारवालाको समेत सहभागिता रहेको गाउँसभामा आगामी आर्थिक वर्षका विकास योजनाबारे छलफल गरिएको थियो । गाउँसभाको सञ्चालन शिक्षा शाखा प्रमुख दामोदर दुबेदीले गरेका थिए ।









प्रतिक्रिया दिनुहोस् !