वीरगंज (पर्सा), ५ असार । सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित यातायात व्यवस्थापनलाई लक्षित गर्दै वीरगंजमा सञ्चालन गरिएको लागू पदार्थ सेवन (लापसे) परीक्षणका क्रममा पाँच जना चालक नियन्त्रणमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले नारायणी अस्पतालको सहकार्यमा शुक्रबार वीरगंज महानगरपालिका–१४ स्थित गण्डक चोक क्षेत्रमा सवारी चालकहरूको लापसे परीक्षण गरेको थियो ।
सो क्रममा २२ जना चालकको परीक्षण गर्दा पाँच जनामा लागू पदार्थ सेवन गरेको पुष्टि भएको प्रहरीले जनाएको छ । ट्राफिक प्रहरीका अनुसार लागू पदार्थ सेवन गरेको पाइनेमध्ये एक जना निजी सवारीसाधनका चालक र चार जना सार्वजनिक सवारीसाधनका चालक रहेका छन् । परीक्षणमा लापसे गरेको देखिएपछि उनीहरूलाई तत्काल नियन्त्रणमा लिइएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख तथा ट्राफिक प्रहरी निरीक्षक दीपेन्द्र श्रेष्ठका अनुसार नियन्त्रणमा लिइएका चालकहरूलाई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ । प्रहरी निरीक्षक श्रेष्ठले सडक दुर्घटना रोकथाम तथा चालकहरूको जिम्मेवार व्यवहार सुनिश्चित गर्न समय–समयमा यस्ता विशेष अभियान सञ्चालन हुँदै आएको बताए ।
उनका अनुसार लागू पदार्थ सेवन गरेर सवारी चलाउने प्रवृत्तिलाई निरुत्साहित गर्न लापसे परीक्षण अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइनेछ ।









प्रतिक्रिया दिनुहोस् !