कलैया (बारा), १ असार । राष्ट्रिय आर्थिक गणना–२०८२ अन्तर्गत बारा जिल्लामा सञ्चालन भइरहेको तथ्याङ्क संकलन कार्य अन्तिम चरणमा पुगेको छ । हालसम्म जिल्लाभरका २१ हजार ७४ वटा व्यवसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिसँग सम्बन्धित इकाइहरूको गणना सम्पन्न भएको छ । जिल्ला आर्थिक गणना कार्यालय बाराका जिल्ला आर्थिक गणना अधिकारी राजेश दासका अनुसार राष्ट्रिय तथ्याङ्क कार्यालयले बाराका लागि २० हजार ९ सय २१ प्रतिष्ठान गणना गर्ने लक्ष्य निर्धारण गरेको थियो । तर संकलनको क्रममा लक्ष्यभन्दा बढी प्रतिष्ठान फेला परेपछि जिल्लाले निर्धारित लक्ष्य पार गर्दै थप विवरण संकलन गर्न सफल भएको छ ।
प्रारम्भिक नतिजाले बारामा पछिल्ला वर्षहरूमा व्यापार, उद्योग तथा सेवा क्षेत्रको विस्तार भएको संकेत गरेको छ । आर्थिक गतिविधि बढ्दै जाँदा व्यवसायिक प्रतिष्ठानहरूको संख्या पनि उल्लेख्य रूपमा वृद्धि भएको देखिएको अधिकारी दासले जानकारी दिए । ‘अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ भन्ने मूल नारासहित राष्ट्रिय तथ्याङ्क कार्यालयले देशव्यापी रूपमा दोस्रो राष्ट्रिय आर्थिक गणना–२०८२ सञ्चालन गरिरहेको छ । वैशाख २ गतेदेखि सुरु भएको गणना कार्यक्रम असार ७ गतेसम्म सञ्चालन हुने तय गरिएको छ ।
गणना कार्यलाई प्रभावकारी बनाउन बारामा ६६ जना गणक र ९ जना सुपरिवेक्षक खटिएका छन् । उनीहरूले स्थानीय तह, वडा कार्यालय तथा सम्बन्धित निकायसँग सहकार्य गर्दै उद्योग, व्यापार, होटल तथा रेष्टुरेन्ट, सेवा क्षेत्र, निर्माण व्यवसाय, वित्तीय संस्था, कृषि उद्यमलगायत विभिन्न आर्थिक गतिविधिमा संलग्न प्रतिष्ठानहरूको तथ्याङ्क संकलन गरिरहेका छन् । कार्यालयका अनुसार जिल्ला प्रशासन कार्यालय, उद्योग वाणिज्य संघ, स्थानीय सरकार, व्यवसायी तथा अन्य सरोकारवालाको सहयोगका कारण गणना अभियान सहज र प्रभावकारी रूपमा अघि बढिरहेको छ ।
निर्धारित समयभित्र विश्वसनीय र गुणस्तरीय तथ्याङ्क संकलन गर्ने लक्ष्यसहित काम भइरहेको जनाइएको छ । राष्ट्रिय आर्थिक गणनाले मुलुकका आर्थिक प्रतिष्ठानहरूको वास्तविक अवस्था, रोजगारी सिर्जना, लगानीको स्थिति, व्यवसायको प्रकृति तथा अर्थतन्त्रमा उनीहरूको योगदानबारे विस्तृत जानकारी उपलब्ध गराउने अपेक्षा गरिएको छ । प्राप्त तथ्याङ्कले संघ, प्रदेश र स्थानीय तहमा नीति निर्माण, विकास योजना तर्जुमा, लगानी प्रवद्र्धन तथा आर्थिक विकासका कार्यक्रम सञ्चालनमा महत्वपूर्ण आधार तयार गर्ने विश्वास गरिएको छ ।
कार्यालयले गणनामा समावेश हुन छुटेका व्यवसाय तथा प्रतिष्ठानलाई आवश्यक विवरण उपलब्ध गराई अभियानमा सहयोग गर्न आग्रह गरेको छ । अन्तिम प्रतिवेदन सार्वजनिक भएपछि बाराको आर्थिक संरचना, व्यवसायिक प्रवृत्ति र रोजगारीको अवस्थाबारे अझ स्पष्ट तस्वीर प्राप्त हुने जिल्ला आर्थिक गणना कार्यालयले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस् !