वीरगंज (पर्सा), २६ जेठ । वीरगंज महानगरपालिका–२४ को आर्थिक सहयोग तथा एडरोबोटिक्सको प्राविधिक साझेदारीमा सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई लक्षित गर्दै एकमहिने विज्ञान तथा प्रविधि तालिम सुरु गरिएको छ । तालिम श्री शारदा माध्यमिक विद्यालय, बहुअरीमा सञ्चालन भइरहेको छ । विद्यार्थीहरूमा विज्ञान, प्रविधि र नवप्रवर्तनप्रति रुचि अभिवृद्धि गर्दै सिर्जनशील तथा अनुसन्धानमुखी सोचको विकास गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो ।
यसबाट विद्यार्थीहरूको व्यावहारिक ज्ञान, सीप र आधुनिक प्रविधिसँगको पहुँच विस्तार हुने अपेक्षा गरिएको छ । विद्यालयका प्रधानाध्यापक अनिल कुमार वर्णवालको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा वडा अध्यक्ष विजय पटेल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । कार्यक्रममा वडा सदस्य सीता देवी र सदाम हुसेन, वडा सचिव सतिश श्रीवास्तव, सहायक सचिव सुरज यादवलगायतको उपस्थिति रहेको थियो ।
तालिममा सिद्धार्थ पटेल, लालबाबु गिरी र दिनेश महतोले प्रशिक्षक तथा सहजकर्ताको भूमिका निर्वाह गरिरहेका छन् । कार्यक्रममा वक्ताहरूले विज्ञान तथा प्रविधिको तीव्र विकास भइरहेको वर्तमान परिवेशमा विद्यार्थीहरूलाई नवप्रवर्तन, अनुसन्धान र आधुनिक सीपसँग जोड्न यस्ता कार्यक्रम प्रभावकारी हुने धारणा व्यक्त गरे । सामुदायिक विद्यालयका विद्यार्थीलाई समयानुकूल तथा गुणस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्यसहित सञ्चालन गरिएको तालिमले भविष्यमा दक्ष, सक्षम र प्रतिस्पर्धी जनशक्ति उत्पादनमा योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ ।
स्थानीय सरकार र निजी क्षेत्रबीचको सहकार्यमा अघि बढाइएको यस पहललाई शैक्षिक गुणस्तर सुधार तथा विद्यार्थीहरूको क्षमता विकासतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ । कार्यक्रमको सञ्चालन शिक्षक यज्ञराज सापकोटाले गरेका थिए ।









प्रतिक्रिया दिनुहोस् !