वीरगंज (पर्सा), १९ जेठ । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह नागरिकता तथा लिखत किर्तेसम्बन्धी मुद्दामा पर्सा जिल्ला अदालतबाट ४ लाख १५ हजार रुपैयाँ धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत पर्साका न्यायाधीश गायत्री प्रसाद रेग्मीको इजलासले लिखतसम्बन्धी कसुरतर्फ ४ लाख रुपैयाँ र झुट्टा विवरण पेश गरी नागरिकता लिएको अभियोगमा १५ हजार रुपैयाँ धरौटी माग गर्दै उनलाई रिहा गर्न आदेश दिएको हो ।
अदालतका श्रेस्तेदार प्रभाकर कुमार मल्लिकका अनुसार आदेशअनुसारको धरौटी रकम बुझाएपछि मेयर सिंह मंगलबार साँझ अदालत परिसरबाट मुक्त भएका हुन् । रिहाइपछि अदालत बाहिर भेला भएका उनका समर्थकहरूले स्वागत गर्दै नाराबाजीसमेत गरेका थिए । यसअघि नागरिकता र लिखत किर्तेसम्बन्धी आरोपमा अनुसन्धानका लागि पर्सा जिल्ला अदालतले जेठ १२ गते मेयर सिंह, उनकी पत्नी रिता भट्टराई तथा वीरगंज–३ का तत्कालीन स्थानीय पञ्जिकाधिकारी भिखारी रायविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । सोही आदेशका आधारमा प्रहरीले मंगलबार बिहान पर्साको ठोरी गाउँपालिका–२ स्थित ठोरी जंगल रिसोर्टबाट मेयर सिंहलाई नियन्त्रणमा लिएर अदालतमा उपस्थित गराएको थियो ।
अदालतमा उनको बयान लिएपछि थुनछेक बहस सञ्चालन गरिएको थियो । मेयर सिंहको पक्षबाट वरिष्ठ अधिवक्ता रामेश्वर सेढाई, कमलमोहन पोखरेल, प्रमोद साहलगायतले बहस गरेका थिए भने जाहेरवालाको तर्फबाट चन्द्रिका पटेलसहितका कानुन व्यवसायी तथा नेपाल सरकारका तर्फबाट जिल्ला न्यायाधिवक्ता मनोज कुमार गुप्ताले आफ्नो पक्ष प्रस्तुत गरेका थिए । वीरगंज–३ निवासी लियाकत अलीको जाहेरीका आधारमा दर्ता भएको उक्त मुद्दामा मेयर सिंहमाथि झुट्टा विवरण पेश गरी नागरिकता प्राप्त गरेको तथा लिखत किर्ते गरेको आरोप लगाइएको छ । सरकारी वकिल कार्यालयका अनुसार २०८० साल माघमा परेको उजुरीका आधारमा अनुसन्धान प्रक्रिया अघि बढाइएको थियो ।
मुद्दामा रिता भट्टराईकी छोरी रुविना श्रेष्ठलाई आफ्नै छोरीका रूपमा देखाई फर्जी जन्मदर्ताको आधारमा नागरिकता बनाएको आरोप लगाइएको छ । यद्यपि, मेयर सिंहले रिता भट्टराई आफ्नी दोस्रो पत्नी रहेको दाबी गर्दै आएका छन् । अदालतले उनलाई धरौटीमा रिहा गर्न आदेश दिए पनि मुद्दाको अन्तिम टुंगो भने लागिसकेको छैन । यस प्रकरणमा अदालतबाट हुने अन्तिम फैसला आउन अझै बाँकी रहेको छ ।









प्रतिक्रिया दिनुहोस् !