वीरगंज (पर्सा), १५ जेठ । नेपाल सरकारले भारतबाट आयात हुने केरामा रोक लगाएपछि नेपाली बजारमा केराको मूल्य अस्वाभाविक रूपमा बढ्न थालेको भन्दै उपभोक्ताहरूले गुनासो गरेका छन् । केही समयअघिसम्म भारतीय केरा प्रतिदर्जन ५० देखि १०० रुपैयाँसम्ममा सहजै उपलब्ध हुने गरेकामा अहिले स्वदेशी केरा २०० देखि ३०० रुपैयाँसम्ममा बिक्री हुन थालेपछि आम उपभोक्ता प्रत्यक्ष मारमा परेका हुन् ।
सरकारले भारतीय केराको आयात रोक्नुको उद्देश्य स्थानीय किसानलाई बजार सुनिश्चित गर्नु र स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नु रहेको बताएको छ । तर यसको असर बजारमा उल्टो रूपमा देखिन थालेको उपभोक्ताहरूको भनाइ छ । सस्तो मूल्यमा पाइने आयातित केरा हटेपछि नेपाली केराको मूल्य अत्यधिक बढेको भन्दै सर्वसाधारणले चिन्ता व्यक्त गरेका छन् । उपभोक्ताहरूका अनुसार स्थानीय उत्पादनमा भन्सार शुल्क नलाग्ने भए पनि बजारमा नेपाली केराको मूल्य झन् महँगो हुनु बजार व्यवस्थापनको कमजोरीको संकेत हो । ‘स्वदेशी उत्पादन भएकाले मूल्य सस्तो हुनुपर्ने हो, तर बजारमा उल्टै अत्यधिक महँगोमा बिक्री भइरहेको छ,’ उपभोक्ताहरूले बताएका छन् ।
बजार विश्लेषकहरूका अनुसार प्रतिस्पर्धा घटेपछि व्यापारीहरूले मनपरी मूल्य निर्धारण गर्ने अवस्था सिर्जना भएको हुन सक्छ । यसको प्रत्यक्ष असर दैनिक उपभोग्य वस्तुको मूल्यमा परेको छ भने बढ्दो महँगीले सर्वसाधारणको आर्थिक भार थप बढाएको छ । केरामा मात्र होइन, अन्य उपभोग्य सामग्रीमा समेत यस्तै प्रकारको मूल्यवृद्धि देखिन थालेको भन्दै उपभोक्ताहरूले सरकारसँग प्रभावकारी बजार अनुगमनको माग गरेका छन् । उनीहरूले अत्यधिक मूल्यवृद्धि नियन्त्रण गर्न मूल्य सीमा निर्धारण गरी उपभोक्तालाई राहत दिनुपर्ने आवश्यकता औंल्याएका छन् ।
निरन्तर बढिरहेको महँगीका कारण दैनिक खर्च धान्नसमेत कठिन बन्दै गएको गुनासो गर्दै उपभोक्ताहरूले बजार नियन्त्रण र मूल्य स्थिरताका लागि सरकारले तत्काल ठोस कदम चाल्नुपर्ने बताएका छन् ।









प्रतिक्रिया दिनुहोस् !