वीरगंज (पर्सा), १० जेठ । वीरगंज महानगरपालिका–८ पानीटंकीस्थित लिटिल बडी प्रि–स्कुलमा आइतबार निःशुल्क दन्त परीक्षण शिविर सम्पन्न भएको छ । स्माइल डेन्टल केयर एण्ड पोलिक्लिनिकको सहकार्यमा आयोजित शिविरमा विद्यार्थी, अभिभावक, शिक्षक तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो ।
विद्यालयका निर्देशक विजय कुमार बलले बालबालिकामा सानैदेखि दाँतको सरसफाइ र स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले शिविर आयोजना गरिएको जानकारी दिए । उनका अनुसार चिकित्सकको सुझावले बालबालिकामा दन्त स्वास्थ्यसम्बन्धी सकारात्मक बानी विकास गर्न मद्दत पुग्ने विश्वास गरिएको छ ।
उनले विद्यालयमा आयोजित दन्त परीक्षण शिविरले मात्रै बालबालिकाहरुको दाँत सफा नहुने भन्दै दात स्वास्थ्य राख्नको लागि साना साना बालबालिकाहरुलाई सधैं याद दिलाई राख्न विद्यालयका शिक्षिकाहरुलाई निर्देशन दिएका थिए । उनले भने ‘बालबालिकाहरुले दिनहुँ ब्रस गर्न बानी बसालेपछि मात्र यो दन्त परीक्षण शिविरको सफलता हुन्छ ।’
शिविरमा दन्त चिकित्सक डा. आमिर आलम र डा. भावना कुमारी झाले विद्यार्थीहरूको दाँत परीक्षण गर्नुका साथै अभिभावकलाई दन्त सरसफाइ, नियमित परीक्षण र सावधानीका विषयमा जानकारी दिएका थिए । डा. झाले बालबालिकामा अत्यधिक गुलियो खाने बानीका कारण दाँतसम्बन्धी समस्या बढ्दै गएको उल्लेख गर्दै समयमै परीक्षण गराउन अभिभावकलाई आग्रह गरिन् ।
विद्यालयकी सुप्रिया पौडेलको संयोजनमा सम्पन्न कार्यक्रममा करिब १५० जनाले सेवा लिएको विद्यालयले जनाएको छ । साथै शिविरमा सहभागी विद्यार्थी, शिक्षक र अभिभावकलाई स्माइल डेन्टल केयर एण्ड पोलिक्लिनिकमा थप उपचारमा विशेष छुटको व्यवस्था गरिएको जानकारी दिइएको छ । विद्यालयले आगामी दिनमा पनि यस्ता स्वास्थ्य तथा जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।









प्रतिक्रिया दिनुहोस् !