वीरगंज (पर्सा), ३१ वैशाख । वीरगंजस्थित हरिखेतान बहुमुखी क्याम्पसमा लामो समयदेखि चुलिँदै आएको आन्तरिक विवाद बिहीबार हिंसात्मक रूप लिँदा शैक्षिक क्षेत्र नै स्तब्ध बनेको छ । क्याम्पस परिसरमै शिक्षकहरूबीच हातपात हुनुका साथै क्याम्पस प्रमुख किशोरी रायमाथि कालोमोसो दलिएको घटना सार्वजनिक भएपछि यसको चौतर्फी आलोचना भइरहेको छ । घटनासम्बन्धी भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि क्याम्पस प्रशासनमाथि गम्भीर प्रश्न उठेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार क्याम्पस प्रमुख रायमाथि दुर्व्यवहार गरिएको घटनामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ परेकामाथि अभद्र व्यवहार मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेत ले जानकारी दिए । प्रहरीले पक्राउ परेकाको औपचारिक नाम सार्वजनिक नगरेपनि प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेमा क्याम्पसकै शिक्षक दिलिप प्रजापति र सह–लेखापाल देवलाल ठाकुर रहेका छन् ।
सार्वजनिक भिडियोमा क्याम्पस प्रमुख किशोरी राय र शिक्षक दिलिप प्रजापतिबीच धकेलाधकेल, तानातान तथा लछारपछार भएको दृश्य देखिन्छ । शिक्षण संस्थाभित्रै शिक्षकहरूबीच हात हालाहालको अवस्था सिर्जना भएपछि क्याम्पसको शैक्षिक वातावरण र प्रशासनिक क्षमता दुवैमाथि प्रश्न उठ्न थालेको छ ।
एक वर्षदेखिको विवादले लियो उग्र रूप
क्याम्पसमा सञ्चालक समितिको हस्तक्षेप र निजीकरणको प्रयास भइरहेको आरोपसहित विगत एक वर्षदेखि विवाद चल्दै आएको थियो । पछिल्लो समय पुनः नियुक्त भएका क्याम्पस प्रमुख किशोरी राय र व्यवस्थापन समितिको मिलेमतोमा करार सेवामा कार्यरत चार शिक्षकलाई हटाउने निर्णय गरेपछि विवाद झन् उत्कर्षमा पुगेको बताइएको छ ।
क्याम्पस प्रशासनले वैशाख २१ गतेदेखि लागू हुने गरी लालकिशोर प्रसाद पटेल, रविन्द्रकुमार यादव, पूजा गुप्ता र दिलिपकुमार पण्डितको करार सेवा समाप्त गर्ने निर्णय गरेको थियो । त्यसको विरोधमा शिक्षक तथा कर्मचारीहरूले क्याम्पसमा तालाबन्दी गर्दै धर्ना कार्यक्रम सञ्चालन गरिरहेका थिए ।
क्याम्पस प्रमुख रायले पटक–पटक ताला खोल्न आग्रह गरेपनि दुवै पक्षबीच सहमति जुट्न नसक्दा तनाव बढ्दै गएको थियो । बिहीबार सोही विवाद उत्कर्षमा पुग्दा क्याम्पस प्रमुखमाथि नै दुर्व्यवहार भएको जनाइएको छ । घटनापछि केही समय क्याम्पस परिसर तनावग्रस्त बनेको थियो । घटनाबारे प्रतिक्रिया लिन क्याम्पस प्रमुख किशोरी रायसँग सम्पर्क गर्ने प्रयास गरिएपनि सम्पर्क हुन सकेन । क्याम्पसका सल्लाहकार जयप्रकाश खेतानले भने घटनालाई ‘लज्जास्पद’ भएको प्रतिक्रिया दिएका छन् । उनले घटनाको वास्तविकता बुझ्ने प्रयास भइरहेको बताए ।
त्यस्तै, क्याम्पस सञ्चालक समितिका अध्यक्ष प्रेमप्रकाश खेतानसँग सम्पर्क गर्न खोजिएपनि फोन सम्पर्क हुन सकेन । वीरगंज महानगरपालिका शिक्षा शाखाका प्रमुख आनन्द लामिछानेसँग प्रतिक्रिया लिन खोज्दा उनको फोनसमेत उठेन ।
निजीकरणको आरोप, विद्यार्थीको भविष्य अन्योलमा
सामुदायिक स्वरूपको क्याम्पसलाई खेतान परिवारले निजीकरण गर्न खोजेको आरोप यसअघि पनि उठ्दै आएको थियो । सञ्चालक समितिका अध्यक्ष बीपी खेतान लामो समयदेखि काठमाडौंमै बस्ने, क्याम्पसमा कमै देखिने र जारी विवाद समाधानमा प्रभावकारी भूमिका नखेलेको भन्दै अभिभावक तथा सरोकारवालाले असन्तुष्टि व्यक्त गरेका छन् ।
उनीहरूको भनाइमा नेतृत्व तहको उदासीनता र आन्तरिक शक्ति संघर्षका कारण क्याम्पसको शैक्षिक वातावरण पूर्ण रूपमा प्रभावित बनेको छ । यसले हजारौं विद्यार्थीको भविष्य अन्योलमा पर्ने खतरा बढेको उनीहरूको चिन्ता छ ।









प्रतिक्रिया दिनुहोस् !