कलैया (बारा), २८ वैशाख । बाराको कलैया उपमहानगरपालिकामा गरिएको संयुक्त बजार अनुगमनका क्रममा दुई वटा मिठाई पसललाई जरिवाना गरिएको छ भने विभिन्न पसलबाट अखाद्य तथा म्याद गुज्रिएका सामग्री बरामद गरी नष्ट गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरकण भट्टराईको नेतृत्वमा खटिएको संयुक्त टोलीले कलैयाका सात वटा पसलमा छड्के अनुगमन गरेको हो ।
अनुगमनका क्रममा कलैया–६ बरियारपुर रोडस्थित माँ अन्नपूर्ण स्विट्स एन्ड बेकरी मा गुणस्तरहीन खाद्य सामग्री बिक्री गरिएको तथा मूल्य सूची नराखिएको पाइएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार ५० हजार रुपैयाँ जरिवाना गरिएको जनाएको छ । त्यसैगरी कलैया–५ स्थित केसर स्विट्स मा म्याद गुज्रिएको आइसक्रिम र मःम फेला परेपछि २० हजार रुपैयाँ जरिवाना गरिएको अनुगमन टोलीले जनाएको छ ।
कलैया–४ स्थित रोशन बाबु जेनेरल स्टोर मा म्याद नाघेको खाने तेल फेला परेपछि उक्त सामग्री पसल अगाडि नै नष्ट गरिएको थियो । अनुगमन टोलीले केही होटल तथा मासु पसललाई आवश्यक कागजातसहित तीन दिनभित्र सम्बन्धित कार्यालयमा उपस्थित हुन निर्देशनसमेत दिएको छ । अनुगमनका क्रममा नापतौल अनुमति पत्र नभएको, मूल्य सूची नराखिएको तथा खाद्य गुणस्तरसँग सम्बन्धित कमजोरी भेटिएपछि केही व्यवसायीलाई चेतावनीसमेत दिइएको छ ।
संयुक्त अनुगमन टोलीमा प्रशासन, खाद्य प्रविधि, उपभोक्ता संरक्षण, गुणस्तर मापन, प्रहरी तथा उपभोक्ता अधिकारकर्मीहरूको सहभागिता रहेको थियो ।









प्रतिक्रिया दिनुहोस् !