वीरगंज (पर्सा), ४ वैशाख । एसइई परीक्षा दिएका विद्यार्थी र उनीहरूका अभिभावकलाई लक्षित गर्दै वीरगंजमा आयोजना हुन लागेको ‘भविष्य मेला २०२६’ लाई अझ आकर्षक बनाउने उद्देश्यले आयोजकले पुरस्कार र विशेष छुटको व्यवस्था गरेको छ । एड्स बी मिडियाका अनुसार मेलामा सहभागी हुनेहरूका लागि गोला प्रथामार्फत एक जना विद्यार्थीले मोबाइल फोन, १० जनाले एयरबड्स, १० जनाले पावर बैंक र १० जनाले स्मार्ट वाच जित्ने अवसर पाउनेछन् । विजेताहरूको घोषणा कार्यक्रमकै साँझ गरिनेछ ।
मेलामा टेक्नोलोजीप्रेमी विद्यार्थीहरूलाई लक्षित गर्दै युबन कम्पनीले आफ्ना विभिन्न ग्याजेटहरूमा विशेष छुट दिने भएको छ । सहभागीहरूले एयरबड्स, पावर बैंक, इयरफोन, चार्जर र स्मार्ट वाचजस्ता सामग्री सहुलियत दरमा खरिद गर्न सक्नेछन्, जसले गुणस्तरीय प्रविधि सामग्रीमा सहज पहुँच बढाउने विश्वास गरिएको छ ।
वैशाख ५ गते शनिबार वीरगंजस्थित सिद्धार्थ दियालो होटलमा बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने एकदिने यस शैक्षिक तथा करियर मेलामा ८ हजारभन्दा बढी विद्यार्थी तथा अभिभावकको सहभागिता रहने अपेक्षा गरिएको छ । कार्यक्रम निर्देशक नवीन कार्कीका अनुसार, ‘यो मेला केवल शैक्षिक प्रदर्शनी मात्र नभई विद्यार्थीहरूको शैक्षिक, व्यावसायिक र व्यक्तिगत भविष्य निर्माणमा सहयोग गर्ने महत्वपूर्ण मञ्च हो ।’ उनका अनुसार पुरस्कार र छुटको व्यवस्थाले सहभागिता अझ उत्साहजनक बनाउनेछ ।
मेलामा विज्ञान, व्यवस्थापन, कानुन, पत्रकारिता, इन्जिनियरिङ, चिकित्सा तथा विभिन्न व्यावसायिक शिक्षासम्बन्धी विषयमा निःशुल्क करियर काउन्सिलिङ, विषय छनोट मार्गदर्शन, छात्रवृत्ति सम्बन्धी जानकारी तथा शैक्षिक संस्थाहरूको विस्तृत विवरण उपलब्ध गराइनेछ । सहभागी कलेजहरूले पूर्ण र आंशिक छात्रवृत्तिको घोषणा समेत गर्ने जनाइएको छ ।
यसका साथै, विद्यार्थीहरूका लागि निःशुल्क डिम्याट खाता र बैंक खाता खोल्ने सुविधा, आँखा परीक्षण शिविर, स्टेशनरी किट, शैक्षिक पुस्तक तथा टेक ग्याजेट वितरणजस्ता सेवाहरू पनि मेलामा समावेश गरिनेछन् । गत वर्ष वीरगंज टाउन हलमा सम्पन्न पहिलो संस्करणमा १० जिल्लाबाट ५ हजारभन्दा बढी विद्यार्थी सहभागी भएका थिए । यस वर्ष दोस्रो संस्करणलाई अझ व्यवस्थित र भव्य बनाउने तयारी गरिएको आयोजकले जनाएको छ ।
वीरगंज महानगरपालिका, प्याब्सन पर्सा, एनप्याब्सन पर्सा, हिसान पर्सा तथा वीरगञ्ज उद्योग वाणिज्य संघलगायत संस्थाहरूको सहकार्यमा आयोजना हुन लागेको यस मेलाले पर्सा, बारा, रौतहटसहित आसपासका क्षेत्रका विद्यार्थीहरूलाई शैक्षिक अवसर र करियर तयारीमा ठोस सहयोग पुर्याउने अपेक्षा गरिएको छ । आयोजकले एसइई दिएका विद्यार्थी, अभिभावक र शैक्षिक संस्थाहरूलाई मेलामा सहभागी भई अवसरको सदुपयोग गर्न आग्रह गरेका छन् ।







प्रतिक्रिया दिनुहोस् !