वीरगंज (पर्सा), १८ फागुन । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ मा प्रतिनिधिसभा सदस्य पदका लागि उज्यालो नेपाल पार्टी का उम्मेदवार रामकिशोर सिंह (पराग)ले चुनावी अभियानलाई तीव्र बनाउँदै वीरगञ्ज महानगरपालिकाका विभिन्न वडामा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् । वीरगञ्ज महानगरपालिका वडा नम्बर–०४ को भगवती टोल तथा वडा नम्बर–१६ को इनरुवा टोलमा आयोजित घरदैलो कार्यक्रममा जेन–जेड युवा र स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता देखिएको थियो ।
युवाहरूले उम्मेदवार सिंहलाई फूलमाला लगाई भव्य स्वागत तथा सम्मान गरेका थिए । घरदैलोका क्रममा उम्मेदवार सिंहले स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै गाउँ–टोलका विभिन्न समस्या, जनगुनासा तथा विकाससम्बन्धी मागहरू सुने । उनले ती समस्याहरूलाई प्राथमिकताका साथ समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्दै “जनताको विश्वास नै मेरो शक्ति हो” भन्ने धारणा राखे । कार्यक्रममा सहभागी स्थानीयवासीहरूले सिंहप्रति विश्वास प्रकट गर्दै आगामी निर्वाचनमा विजयको अग्रिम शुभकामना दिएका थिए । साथै सक्षम, इमानदार र काम गर्न सक्ने उम्मेदवारलाई अध्ययन गरेर मात्र मतदान गर्नुपर्ने सन्देशसमेत दिएका थिए ।
उम्मेदवार सिंहले युवाहरूका लागि रोजगारी सिर्जना, गुणस्तरीय शिक्षाको सुनिश्चितता तथा सहज स्वास्थ्य सेवाको विस्तारलाई आफ्नो मुख्य प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता दोहोर्याए । स्थानीयवासीहरूको उत्साहपूर्ण सहभागिता र सकारात्मक प्रतिक्रियाबीच सम्पन्न घरदैलो कार्यक्रमले पर्सा–१ मा चुनावी माहोल थप तातेको संकेत दिएको आयोजक पक्षले जनाएको छ ।







प्रतिक्रिया दिनुहोस् !