वीरगंज (पर्सा), १७ फागुन । पर्सा क्षेत्र नं. ४ अन्तर्गत मसिहानीमा नेपाली कांग्रेस निकट युवाहरूको भव्य भेला सम्पन्न भएको छ । भेलामा सहभागी सयौं युवाले प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका उम्मेदवार रमेश रिजाललाई विजयी गराउन एकजुट भएर अभियानमा होमिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार रिजालले युवाहरूको उत्साह, ऊर्जा र सक्रियताले आफूलाई थप हौसला मिलेको बताए । उनले देश र क्षेत्रको समृद्धिका लागि अब नेतृत्वलाई युवामैत्री र परिणाममुखी बनाउनुपर्ने आवश्यकता औंल्याए । ‘राष्ट्र निर्माणको जिम्मेवारी अब युवाको काँधमा सुदृढ रूपमा हस्तान्तरण हुनुपर्छ,’ उनले भने । रिजालले रोजगारी सिर्जना, गुणस्तरीय शिक्षा, सहज र सर्वसुलभ स्वास्थ्य सेवा, कृषि क्षेत्रको आधुनिकीकरण तथा आधारभूत पूर्वाधार विकासलाई आफ्नो प्राथमिक एजेन्डा बनाएको उल्लेख गरे । युवाशक्तिलाई उद्यमशीलता, सीप विकास र राजनीतिक नेतृत्वमा अगाडि ल्याउन विशेष कार्यक्रम ल्याउने प्रतिबद्धता पनि उनले दोहोर्याए ।
उनले पर्सा–४ लाई आर्थिक तथा सामाजिक रूपान्तरणको नमूना क्षेत्र बनाउने लक्ष्यका साथ अघि बढ्ने धारणा व्यक्त गर्दै युवाहरूलाई सकारात्मक परिवर्तनको अभियानमा अग्रसर हुन आह्वान गरे । आगामी निर्वाचनलाई केवल राजनीतिक प्रतिस्पर्धा नभई क्षेत्रको भविष्य निर्माण गर्ने अवसरका रूपमा लिनुपर्ने उनले बताए । भेलामा कांग्रेस नेता सहरुम राउत गद्दी, राकेश यादव, नेपाल विद्यार्थी संघ (नेवि संघ) पर्साका अध्यक्ष रमेश यादव, क्षेत्रीय सचिव बलिष्ट अहमद, धर्मेन्द्र पटेललगायतका नेताहरूको उपस्थिति रहेको थियो । वक्ताहरूले युवाको सक्रियता नै कांग्रेसको जितको आधार हुने दाबी गरे ।
स्थानीय विश्लेषकहरूका अनुसार मसिहानीमा आयोजित यो भेला पर्सा–४ मा कांग्रेसको युवा पंक्ति सशक्त रूपमा परिचालित भएको संकेतका रूपमा हेरिएको छ । भेलाले संगठनलाई तल्लो तहसम्म सक्रिय बनाउने र उम्मेदवार रिजालको चुनावी अभियानलाई गति दिने अपेक्षा गरिएको छ । निर्वाचन नजिकिँदै जाँदा पर्सा–४ मा राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ । यस्तो अवस्थामा युवाहरूको उल्लेखनीय सहभागितासहित सम्पन्न यो भेला कांग्रेसका लागि रणनीतिक रूपमा महत्वपूर्ण कदमका रूपमा मूल्याङ्कन गरिएको छ ।







प्रतिक्रिया दिनुहोस् !