वीरगंज (पर्सा), १६ फागुन । पर्सा निर्वाचन क्षेत्र नं. ३ मा नेकपा एमालेका उम्मेदवार रुपेशकुमार पाण्डेले आफ्नो चुनावी घोषणापत्र क्षेत्रका समग्र समस्यालाई समाधान गर्ने दिशामा केन्द्रित रहेको बताएका छन् । उनले रोजगारी सृजनादेखि उद्योग, कृषि, स्वास्थ्य, शिक्षा र पूर्वाधार विकाससम्मका क्षेत्रलाई प्राथमिक एजेन्डाका रूपमा अघि सारेका छन् ।
पाण्डेका अनुसार युवालाई विदेशिन बाध्य हुने अवस्थाको अन्त्य गर्न स्थानीय स्तरमै अवसर विस्तार गरिनेछ । साना तथा मझौला उद्योगलाई सहुलियत ऋण उपलब्ध गराउने, स्टार्टअप र सूचना प्रविधि क्षेत्रमा युवालाई विशेष प्रोत्साहन गर्ने कार्यक्रम सञ्चालन गरिने उनले बताए । स्वदेशमै उद्यमशीलता विकासमार्फत आर्थिक गतिविधि बढाउने उनको योजना छ ।
कृषि तथा पशुपालन क्षेत्रलाई मजबुत बनाउन आधुनिकीकरण र मेकानाइजेसनलाई प्राथमिकता दिइने पाण्डेको भनाइ छ । मल र उन्नत बीउमा अनुदानको व्यवस्था, साथै युवालाई कृषि उद्यमतर्फ आकर्षित गर्ने कार्यक्रम सञ्चालन गरिने उनले उल्लेख गरे । यसबाट उत्पादन वृद्धि भई किसानको आम्दानी बढ्ने विश्वास व्यक्त गरिएको छ ।
स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न जिल्ला अस्पताललाई सुदृढ बनाउने, आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने र स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्ने योजना उनले सार्वजनिक गरेका छन् । शिक्षा क्षेत्रमा सार्वजनिक विद्यालय सुधार, प्राविधिक तथा व्यावसायिक शिक्षाको विस्तार र डिजिटल शिक्षालाई प्राथमिकता दिने उनले स्पष्ट पारे ।
सडक तथा पुल निर्माणलाई तीव्रता दिने, जलविद्युत् आयोजना अघि बढाउने र सिँचाइ तथा खानेपानी परियोजना विस्तार गर्ने प्रतिबद्धता पाण्डेले जनाएका छन् । साथै वृद्धभत्ता लगायत सामाजिक सुरक्षा कार्यक्रमलाई निरन्तरता दिँदै गरिबी निवारणका योजनालाई थप सशक्त बनाइने उनको भनाइ छ ।
उम्मेदवार पाण्डेले विकास, सुशासन र समृद्धिको एजेन्डालाई साकार पार्न मतदाताको समर्थन आवश्यक रहेको उल्लेख गर्दै आगामी निर्वाचनमा आफूलाई साथ दिन अपिल गरेका छन् ।









प्रतिक्रिया दिनुहोस् !