वीरगंज (पर्सा), १२ माघ । पर्सा निर्वाचन क्षेत्र नम्बर-१ बाट नेकपा एमालेका उम्मेदवार प्रदीप यादवले अबको निर्वाचन संकटका बेला जनताको पक्षमा उभिन सक्ने नेतृत्व छान्ने निर्णायक अवसर भएको बताएका छन् ।
चुनावी प्रचार-प्रसार, घरदैलो अभियान तथा कार्यकर्ता भेटघाट र छलफल कार्यक्रममा बोल्दै यादवले वीरगंजमा चरम सुख्खा परेका बेला नगरवासीहरू खानेपानीको गम्भीर अभावमा परेका समयमा आफूले ठूलो जोखिम मोलेर केन्द्र सरकारसँग बजेटको व्यवस्था गराई धारा, बोरिङ, ट्युबवेल र रिजर्भ ट्याङ्कीमार्फत पानी वितरण गराएको स्मरण गराए । ‘संकटको समयमा को काम गर्छ र को भाषणमै सीमित हुन्छ भन्ने कुरा जनताले आफ्नै आँखाले देखिसक्नुभएको छ,’ उनले भने ।
पूर्व मन्त्रीसमेत रहेका यादवले खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हाल्दा मन्त्रालयले जनताको पक्षमा कस्तो भूमिका खेल्नुपर्छ भन्ने कुरा काममार्फत प्रमाणित गरेको दाबी गरे । अधुरा रहेका विकास निर्माणका काम पूरा गर्न फेरि एकपटक मौका दिन उनले मतदातासँग आग्रह गरे । ‘जनताको समस्या समाधान गर्ने इच्छाशक्ति र क्षमता एमालेसँग छ,’ यादवले भने ।
उनले सुख्खाग्रस्त क्षेत्रका कारण सिर्जित समस्याहरू समाधान गर्न आफूले कुनै कसर बाँकी नराखेको र कोरोना महामारीका बेला वीरगंज तथा आसपासका क्षेत्रका नागरिकको स्वास्थ्य सुरक्षाका लागि खेलेको भूमिकासमेत स्मरण गराए । शिक्षा, स्वास्थ्य, खानेपानी तथा सामाजिक क्षेत्रका सुधारका कामहरूले नै आफ्नो राजनीतिक प्रतिबद्धता पुष्टि गर्ने यादवको भनाइ थियो ।
कार्यक्रममा सहभागी स्थानीय मतदाताहरूले पनि संकटमा साथ दिने, काम गरेर देखाउने र राष्ट्रिय हितलाई प्राथमिकतामा राख्ने नेतृत्व आवश्यक रहेको प्रतिक्रिया दिएका छन् । उनीहरूले एमालेजस्तो राष्ट्रवादी शक्तिलाई मतदान गर्न आतुर रहेको बताएका छन् । पर्सा–१ मा विकास, स्थायित्व र जनउत्तरदायी नेतृत्वको पक्षमा माहोल बन्दै गएको स्थानीयको भनाइ छ ।








प्रतिक्रिया दिनुहोस् !