वीरगंज (पर्सा), १४ पुस । वीरगंज महानगरपालिकाको १९ औं नगर अधिवेशन सोमबार सम्पन्न भएको छ । अधिवेशनले यसअघि गत असोजमा सम्पन्न विशेष अधिवेशनबाट कटौती गरिएको वडास्तरीय बजेटको २५ प्रतिशत रकम पुनः थप गर्ने महत्वपूर्ण प्रस्ताव पारित गरेको छ ।
गत भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका क्रममा वीरगंज महानगरपालिकाको कार्यालय रहेको भवनसहित महानगरका विभिन्न संरचनामा क्षति पुगेपछि असोज महिनामा विशेष अधिवेशन आयोजना गरिएको थियो । उक्त विशेष अधिवेशनले क्षतिग्रस्त संरचनाको पुनर्निर्माणलाई प्राथमिकतामा राख्दै श्रोत व्यवस्थापनका लागि वडास्तरीय बजेटमा समेत कटौती गर्ने निर्णय गरेको थियो ।
हाल सम्पन्न १९ औं नगर अधिवेशनले पुनर्निर्माणका लागि आवश्यक श्रोत व्यवस्थापन भइसकेको भन्दै चालु आर्थिक वर्षका लागि १७ औं नगर अधिवेशनले वडातर्फ विनियोजन गरेको बजेटलाई यथावत् राख्ने निर्णय पारित गरेको हो । यसबारे जानकारी दिँदै वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले वडाको २५ प्रतिशत कटौती गरिएको बजेट पुनः थप गरी कार्यान्वयनमा लैजाने निर्णय गरिएको बताए ।
अधिवेशनमा मेयर सिंहले चालु आर्थिक वर्षको हालसम्मको समग्र आयव्यय विवरणसमेत सार्वजनिक गरेका थिए । उनका अनुसार यस आर्थिक वर्षमा विनियोजन गरिएको कुल ३ अर्ब २२ करोड रुपैयाँ मध्ये हालसम्म १ अर्ब १३ करोड रुपैयाँ खर्च भइसकेको छ । खर्चको प्रतिशतका आधारमा हेर्दा हालसम्म कुल विनियोजित बजेटको ३३ प्रतिशत खर्च भएको जानकारी उनले दिए ।
मेयर सिंहका अनुसार चालु खर्चतर्फ ३४.७८ प्रतिशत र पूँजीगत खर्चतर्फ ३२.६४ प्रतिशत बजेट खर्च भइसकेको छ । यसैगरी, वीरगंज महानगरपालिकाले चालु आर्थिक वर्षभित्र नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित सुलभ औषधि पसल सञ्चालन, प्रयोगशाला विस्तार तथा नगर अस्पताल सञ्चालनमा ल्याउने लक्ष्यसमेत राखेको जनाएको छ ।
१९ औं नगर अधिवेशनमा उपमेयर इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण, महानगरपालिकाका ३२ वटै वडाका वडाध्यक्ष, वडा सदस्य तथा अन्य जनप्रतिनिधि र कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । 







प्रतिक्रिया दिनुहोस् !