वीरगंज (पर्सा), ४ पुस । सशस्त्र प्रहरी बल, नेपाल पर्साले भारतबाट अवैध रूपमा भन्सार छली नेपाल भित्र्याइँदै गरिएको करिब १६ लाख ८ हजार ८ सय ६० रुपैयाँ बराबरको विभिन्न सामान बरामद गरी आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालयमा दाखिला गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साका अनुसार सीमा क्षेत्रमा बढाइएको गस्ती तथा निगरानीका क्रममा शुक्रबार वीरगंज महानगरपालिका–२५ खलवा नाका आसपासबाट अवैध सामान बरामद गरिएको हो । उक्त स्थानबाट भारतबाट विभिन्न सवारी साधनमा लोड गरी नेपालतर्फ ल्याउँदै गरिएको ७ लाख ५६ हजार ४ सय ९० रुपैयाँ बराबरको कपडा तथा कस्मेटिक सामग्री सशस्त्र प्रहरीको टोलीले नियन्त्रणमा लिएको जनाएको छ । बरामद सामान आवश्यक कानुनी प्रक्रिया पूरा गर्न भन्सार कार्यालयमा बुझाइएको छ ।
त्यसैगरी, सोही दिन सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हे.क्वा. वीरगंजबाट खटिएको टोलीले खलवा नाकाबाट साइकलमा लोड गरी अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरिएको ७ लाख ४९ हजार ८ सय रुपैयाँ बराबरको कपडा, किराना, कफीदाना तथा कस्मेटिक सामान बरामद गरेको छ । उक्त सामग्री पनि भन्सार कार्यालयमा दाखिला गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
यस्तै, मिति २०८२/०९/०४ गते नै सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हे.क्वा. अलौबाट खटिएको टोलीले वीरगंज महानगरपालिका–१७ कोनिया क्षेत्रबाट भारततर्फबाट भन्सार छलि साइकलमार्फत नेपाल भ्ित्रयाइँदै गरिएको १ लाख २ हजार ५ सय ७० रुपैयाँ बराबरको किराना सामग्री तथा एयरबड बरामद गरेको छ । उक्त सामान पनि आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विश्वराज योन्जनका अनुसार सीमा क्षेत्रमा हुने अवैध ओसारपसार नियन्त्रण गर्न निरन्तर गस्ती तथा निगरानी थप कडा पारिएको छ । सीमा नाकाबाट हुने भन्सार छलि, तस्करी तथा अवैध कारोबार रोक्न सशस्त्र प्रहरीले थप सतर्कता अपनाउँदै आएको जनाएको छ ।









प्रतिक्रिया दिनुहोस् !