जनकपुर (धनुषा), ४ पुस । भारत सरकारको आर्थिक सहयोगमा धनुषा जिल्लाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–तुल्सियाहीमा निर्माण गरिएको बैद्यनाथ देवनारायण पब्लिक मोडल माध्यमिक विद्यालयको नवनिर्मित भवन शुक्रबार भव्य समारोहका बीच औपचारिक रूपमा उद्घाटन गरिएको छ । आधुनिक सुविधासहित तयार गरिएको विद्यालय भवनको उद्घाटन वीरगंजस्थित भारतीय महावाणिज्यदूत देवी सहाय मीना र मुखियापट्टी मुसहरनिया गाउँपालिकाका अध्यक्ष जय कुमार यादवले संयुक्त रूपमा गरेका हुन् ।
नवनिर्मित विद्यालय भवन तथा त्यससँग सम्बन्धित पूर्वाधार भारत सरकारको सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना (High Impact Community Development Project) अन्तर्गत निर्माण गरिएको हो । परियोजनाको कार्यान्वयन मुखियापट्टी मुसहरनिया गाउँपालिकामार्फत गरिएको थियो । चार करोड रुपैयाँभन्दा बढीको लागतमा सम्पन्न यस परियोजनाले स्थानीय स्तरमा शैक्षिक पूर्वाधार सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
बैद्यनाथ देवनारायण पब्लिक मोडल माध्यमिक विद्यालय धनुषा जिल्लाका अग्रणी सरकारी विद्यालयहरूमध्ये एकका रूपमा परिचित छ । विद्यालयमा प्रारम्भिक बालविकासदेखि कक्षा १२ सम्म अध्ययन–अध्यापन हुँदै आएको छ । साथै, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) सँग आबद्ध भई १८ महिनाको कम्प्युटर प्रि–डिप्लोमा पाठ्यक्रम पनि सञ्चालन हुँदै आएको छ । हाल विद्यालयमा करिब २ हजार ५ सय विद्यार्थी अध्ययनरत छन्, जसमध्ये करिब ६० प्रतिशत छात्रा रहेका छन् ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै भारतीय महावाणिज्यदूत देवी सहाय मीनाले शिक्षा कुनै पनि राष्ट्रको दिगो विकासको आधार भएको उल्लेख गरे । उनले नेपालको शैक्षिक विकासमा सहयोग गर्न पाउँदा भारत सरकार गर्वान्वित भएको बताउँदै नयाँ विद्यालय भवनले विद्यार्थीहरूलाई सुरक्षित, सहज र गुणस्तरीय सिकाइ वातावरण प्रदान गर्ने विश्वास व्यक्त गरे । विशेषगरी बालिका शिक्षा, प्राविधिक तथा व्यावसायिक शिक्षाको विस्तार र ग्रामीण क्षेत्रका युवाहरूलाई अवसर सिर्जना गर्न यस्ता परियोजनाहरू अत्यन्त महत्वपूर्ण हुने उनको धारणा थियो ।
त्यसैगरी कार्यक्रममा बोल्दै मुखियापट्टी मुसहरनिया गाउँपालिकाका अध्यक्ष जय कुमार यादवले भारत सरकारद्वारा प्रदान गरिएको सहयोगप्रति आभार व्यक्त गरे । उनले नवनिर्मित भवनले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि हुनुका साथै स्थानीय समुदायमा शिक्षाप्रति सकारात्मक सोच र विश्वास विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
उद्घाटन समारोहमा स्थानीय जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी, अभिभावक तथा विभिन्न सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । नयाँ भवन निर्माणसँगै विद्यालय परिसरमा उत्साहपूर्ण वातावरण देखिएको थियो । छिमेकी राष्ट्र भारत र नेपालबीचको बहुआयामिक सहकार्यको सशक्त उदाहरणका रूपमा यस विद्यालय भवन निर्माणलाई लिइएको छ ।
उच्च प्रभाव सामुदायिक विकास परियोजनाको सफल कार्यान्वयनले स्थानीय तहमा शिक्षा लगायत अन्य प्राथमिक क्षेत्रहरूको पूर्वाधार विकासमा दीर्घकालीन योगदान पुर्याउने सरोकारवालाहरूले बताएका छन् ।








प्रतिक्रिया दिनुहोस् !