मौलापुर (रौतहट), २६ मंसिर । रौतहटमा प्रहरीले श्रोत नखुलेको ११ लाख ४७ हजार रुपैयाँसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका–११ भगवानपुर निवासी ३६ वर्षीय मुनाप्रसाद जयसवाल रहेका छन् ।
इलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको प्रहरी टोलीले मौलापुर नगरपालिका–३ स्थित लालबकैया बाँध क्षेत्रमा जयनगर जाने सडकखण्डमा नियमित चेकजाँचका क्रममा जयसवाललाई नियन्त्रणमा लिएको हो । उनी मधेश प्रदेश–०३–०३३ प ३११० नम्बरको मोटरसाइकलमा सवार रहेका बेला प्रहरीले शंका उत्पन्न भएपछि विस्तृत रूपमा चेकजाँच गरेको थियो ।
चेकजाँचकै क्रममा जयसवालको साथबाट ११ लाख ४७ हजार रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ । रकमको श्रोत बारे विश्वसनीय जानकारी नदिएको तथा आवश्यक कागजात प्रस्तुत गर्न नसकेपछि उनलाई तत्काल नियन्त्रणमा लिएर रकम बरामद गरिएको प्रहरीको भनाइ छ । घटनासम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।









प्रतिक्रिया दिनुहोस् !