वीरगंज (पर्सा), २५ मंसिर । वीरगंज स्थित नेशनल मेडिकल कलेज तथा नेशनल इन्फोटेक कलेज (एन.आई. कलेज) बीच स्वास्थ्य सेवा सहकार्यसम्बन्धी महत्वपूर्ण सम्झौता सम्पन्न भएको छ । दुवै संस्थाबीचको यो सहकारी सम्झौता २०८२ साल मंसिर २४ गते (डिसेम्बर १०, २०२५) का दिन नेशनल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलको केन्द्रिय कार्यालय, वीरगंज–१५, पर्सामा औपचारिक रुपमा हस्ताक्षर गरिएको हो ।
सम्झौताअनुसार अब नेशनल इन्फोटेक कलेज (एन.आई. कलेज) का बोर्ड सदस्य, कर्मचारी/खेलाडी तथा उनीहरूका प्रत्यक्ष आश्रितहरूले नेशनल मेडिकल कलेजबाट विभिन्न स्वास्थ्य सेवामा विशेष सुविधा प्राप्त गर्नेछन् । आकस्मिक तथा आपतकालीन उपचारदेखि लिएर क्यासलेस तेश्रो पक्ष बीमा सेवा, कलेज परिसरमै अन–साइट क्लिनिक संचालन, वेलनेस प्याकेज, स्वास्थ्य जाँच तथा नियमित उपचारमा छुटसहितका सुविधा उपलब्ध गराइने कलेजले जनाएको छ ।
यस सहकार्य अन्तर्गत ओ.पी.डी. सेवा, जनरल बेड, आई.सी.यू., एन.आई.सी.यू., पी.आई.सी.यू., विभिन्न प्रकारका शल्यक्रिया, प्याथोलोजी परीक्षण, एक्स–रे तथा भिडियो एक्स–रे, ई.सी.जी., इको, टी.एम.टी., सिटी स्क्यान, एम.आर.आई., फार्मेसीदेखि डेन्टल सेवा समेतमा विशेष सहुलियत प्रदान गरिने उल्लेख गरिएको छ । समग्रमा, कलेजमा आबद्ध व्यक्तिहरूले आफ्नै सहकार्य संस्थाबाट सहज र छिटो सेवा पाउने वातावरण तयार हुने अपेक्षा लिइएको छ ।
सम्झौतामा नेशनल मेडिकल कलेज प्रा.लि.का तर्फबाट प्रबन्ध निर्देशक शहनवाज अन्सारी तथा नेशनल इन्फोटेक कलेजका तर्फबाट प्रिन्सिपल इञ्जिनियर मनिष सिंहले हस्ताक्षर गरेका हुन् । एक वर्षका लागि लागू हुने यो सम्झौता आपसी सहमतिमा नवीकरण गर्न सकिने व्यवस्था रहेको छ।
दुवै संस्थाले यस सहकार्यले शैक्षिक तथा स्वास्थ्य क्षेत्रबीचको समन्वयलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरेका छन् । विशेषतः एन.आई. कलेजमा आबद्ध विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूका लागि गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्न यो सम्झौता महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।









प्रतिक्रिया दिनुहोस् !