वीरगंज (पर्सा), २४ मंसिर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि पर्साका चारै वटै निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिले प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फका उम्मेदवारको नाम सिफारिस जिल्ला कार्यसमितिमा पठाएका छन् । प्रत्यक्षतर्फ सिफारिस भएका नामको सूचीमा भने प्रायः पुरानै अनुहारको वर्चस्व देखिएको छ ।
क्षेत्र नं. १ बाट अनिल रुंगटाको एकल प्रस्ताव
पर्सा क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फका लागि कांग्रेस केन्द्रीय सदस्य तथा पूर्व संविधानसभा सदस्य अनिल रुंगटाको नाम एकल रूपमा सिफारिस गरिएको छ । रुंगटा द्वितीय संविधानसभा निर्वाचनमा समानुपातिकतर्फ विजयी भएका थिए । २०७४ को प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ प्रतिस्पर्धा गरे पनि उनी पराजित भएका थिए ।
क्षेत्र नं. २ बाट तीन अनुभवी नेतासहित युवाको नाम
क्षेत्र नम्बर २ बाट पूर्वमन्त्री तथा केन्द्रीय सदस्य अजय चौरसिया, संविधानसभा सदस्य राजेन्द्र अमात्य र नेविसंघका पूर्व जिल्ला सभापति राकेश यादवको नाम सिफारिस गरिएको छ ।
चौरसिया तीन पटकका सांसद भइसकेका हुन् भने अमात्यसँग पनि दुई संविधानसभा निर्वाचनको अनुभव छ । ४३ वर्षीय राकेश यादव युवा नेतृत्वको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धामा आएका छन् ।
क्षेत्र नंं. ३ बाट पाँच नाम, सबै राजनीतिक अनुभवसहित
क्षेत्र नम्बर ३ बाट पूर्वमन्त्री तथा चार पटक सांसद भइसकेका सुरेन्द्र प्रसाद चौधरी, प्रदेशका पूर्वमन्त्री जनाद्र्धन सिंह क्षेत्री, नेविसंघका पूर्वकेन्द्रीय सदस्य शम्भु चौहान, किसान नेता असर्फी साह र भगवती चौधरी गरी पाँच जनाको नाम सिफारिस गरिएको छ । सुरेन्द्र चौधरी २०४८ सालदेखि २०७९ सम्मका सबै चुनावमा कांग्रेसका तर्फबाट उम्मेदवार बनेका अनुभवशाली नेता हुन् । प्रदेश सरकारका पूर्वमन्त्री तथा कांग्रेस पर्साका सभापति जनाद्र्धन सिंह क्षेत्री २०७९ मा प्रदेश सभा सदस्य निर्वाचित भएका थिए ।
क्षेत्र नं. ४ बाट रमेश रिजालको एकल सिफारिस
क्षेत्र नम्बर ४ मा पूर्वमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य रमेश रिजालको नाम एकल रूपमा सिफारिस गरिएको छ । २०४८ देखि २०७९ सम्म भएका सातै प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसका तर्फबाट उम्मेदवार बनिरहेका रिजाल चार पटक सांसद भइसकेका छन् ।
समानुपातिकतर्फ सिफारिस
चारै क्षेत्रीय कार्यसमितिले समानुपातिकतर्फका लागि पनि नाम सिफारिस गरेको छ । क्षेत्र नं. १ बाट राजकृष्ण अमात्य, इश्वरभक्त श्रेष्ठ, कासिमा खातुन, बुनेल राम, किरण सरकारको नाम सिफारिस गरिएको छ भने क्षेत्र नं. २ बाट गम्भीरा साह, राजनाथ ठाकुर, विद्या श्रेष्ठ, रूपा श्रेष्ठ, जुनमाया बलको नाम सिफारिस गरिएको छ । यसैगरि क्षेत्र नं. ३ बाट मुकेश कुर्मी, ध्रुव कुशवाहा, मनोज यादवको नाम सिफारिस गरिएको छ भने क्षेत्र नं. ४ बाट वृहस्पतिकृष्ण श्रेष्ठ, सुजाता देवीको नाम सिफारिस गरिएको छ ।
यसैगरि क्षेत्रीय कार्यसमितिले राष्ट्रिय सभा सदस्यका लागि पनि नामहरु सिफारिस गरेको छ । क्षेत्र नंं. १ बाट शम्भु हजरा दुसाद, श्याम पोखरेल, क्षेत्र नं. २ बाट सुखल हजरा, प्रेमचन्द्र दुबे, कन्हैयालाल बानिया, हिरा साह कानु, क्षेत्र नं. ३ बाट ललन द्विवेदी, सिन्धु मेहता तथा क्षेत्र नं. ४ बाट रमेश पाण्डेको नाम सिफारिस गरिएको छ ।
प्रक्रिया मंसिर मसान्तभित्र केन्द्रमा पुग्ने
कांग्रेस पर्साका सभापति जनाद्र्धन सिंह क्षेत्रीका अनुसार चारै क्षेत्रबाट सिफारिस भएका नामहरूमा आवश्यक छलफल गरी जिल्ला कार्यसमितिले मंसिर २५ भित्र मधेस प्रदेश कार्यसमितिमा पठाउने तयारी गरेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको मंसिर १५ को निर्णयअनुसार क्षेत्रीय कार्यसमितिले मंसिर २३ भित्र सिफारिस जिल्ला कार्यसमितिमा पठाइसक्नुपर्ने परिपत्र जारी गरिएको छ ।
प्रदेश कार्यसमितिले प्राप्त सिफारिसमा आफ्नो रायसहित मंसिर मसान्तभित्र केन्द्रीय कार्यसमितिमा पठाउने व्यवस्था कांग्रेसले गरेको छ । यसरी हेर्दा पर्साका चारै क्षेत्रमा पुनः पुरानै अनुभवी नेताहरूको वर्चस्व देखिएपनि समानुपातिकतर्फ नयाँ अनुहार र क्षेत्रीय विविधता समेटिएको देखिन्छ । आगामी फागुनमा हुने निर्वाचनमा यी सिफारिसहरूमध्ये कसको उम्मेदवारी टुंगिने हो भन्ने चरो चासो कांग्रेस भित्रै बढ्न थालेको छ ।









प्रतिक्रिया दिनुहोस् !