वीरगंज (पर्सा), १२ मंसिर । वीरगंजमा प्रहरीले श्रोत नखुलेको ठूलो नगदसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । भन्सार क्षेत्र हुँदै नेपालतर्फ प्रवेश गरेका भारतको बिहार, मोतिहारी जिल्लाका रक्सौल निवासी ५३ वर्षीय सुरेन्द्र साहलाई प्रहरीले वीरगंज महानगरपालिका वडा नं. १६ रजतजयन्ती चोक नजिकै चेकजाँचका क्रममा नियन्त्रणमा लिएको हो ।
साहले चलाइरहेको मधेस प्रदेश ०३–०२५ प ९८०७ नम्बरको मोटरसाइकललाई नियमित चेकजाँचका क्रममा रोकेर चेकजाँच गर्दा मोटरसाइकलको एयर फिल्टरभित्र लुकाइराखिएको ठूलो परिमाणको नेपाली मुद्रा फेला परेको पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिबहादुर बस्नेतले जानकारी दिए ।
उनका अनुसार एयर फिल्टरभित्र सावधानीपूर्वक लुकाइएको अवस्थामा नेपाली १ हजार दरका ७०० थान तथा ५ सय दरका ६०० थान नोट फेला परे, जसको जम्मा मूल्य १० लाख रुपैयाँ हुन्छ । साहले रकमको स्पष्ट श्रोत नबताएपछि उनलाई रकम र मोटरसाइकलसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।
डि.एस.पी. बस्नेतका अनुसार बरामद रकम अवैध हुँडी कारोबारसँग जोडिएको प्रारम्भिक अनुमान गरिएको छ । ‘रकमको श्रोतबारे कुनै विश्वसनीय विवरण पेश गर्न नसकेपछि हामीले साहलाई हिरासतमा राखेर थप अनुसन्धान अघि बढाएका छौं,’ बस्नेतले भने ।
सीमावर्ती क्षेत्रको जोखिमपूर्ण वित्तीय गतिविधि रोकथाम र अवैध रकम ओसारपसार नियन्त्रणका लागि प्रहरीले पछिल्लो समय निगरानी कडा बनाएको छ । साहको यो पक्राउ पनि त्यही निगरानी अभियान अन्तर्गत परेको प्रहरीको दाबी छ ।









प्रतिक्रिया दिनुहोस् !