वीरगंज (पर्सा), १२ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साले आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावका लागि उम्मेदवार चयन प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ । शुक्रबार वीरगंजमा आयोजित पत्रकार सम्मेलनमार्फत रास्वपा पर्साले उम्मेदवार चयनका लागि लागू हुने ९ बुँदे योग्यता र मापदण्ड सार्वजनिक गर्दै निष्पक्ष, वैज्ञानिक र पूर्ण रूपमा पारदर्शी छनोट प्रक्रिया अपनाइने स्पष्ट संकेत दिएको हो ।
पत्रकार सम्मेलनमा रास्वपा पर्साका सभापति हरि पन्तले प्रस्तुत गरेका ९ बुँदे शर्तअनुसार उम्मेदवार नेपाली नागरिक हुनुपर्ने, २१ वर्ष उमेर पूरा गरेको हुनुपर्ने, अन्य कुनै राजनीतिक दलमा सक्रिय रूपमा संलग्न नभएको र कुनै पनि किसिमको राजनीतिक पदमा दाबी नरहेको व्यक्ति मात्र आवेदन दिन योग्य हुनेछन् । त्यस्तै, भ्रष्टाचारजन्य कसुरमा नैतिक पतन हुने गरी सजाय पाएको वा प्रचलित कानुनअनुसार अयोग्य ठहरिएको व्यक्ति उम्मेदवारीका लागि अयोग्य हुने उल्लेख छ ।
उम्मेदवारको आयश्रोत पारदर्शी हुनु, विगतको पृष्ठभूमि शुद्ध हुनु, पार्टीको केन्द्रिय समितिप्रति पूर्ण विश्वास राख्नु र पार्टीको अनुशासन समितिबाट कुनै प्रकारको दण्ड शास्ति नपाएको हुनुपनि अनिवार्य मापदण्डमा समावेश गरिएको छ ।
सभापति पन्तले उम्मेदवार छनोटका क्रममा जित्ने सम्भावना, राजनीतिक प्रतिबद्धता, सामाजिक योगदान र क्षेत्रगत प्रभावकारितालाई प्रमुख आधार बनाइने बताए । उनले रास्वपाको समानुपातिक उम्मेदवार छनोट प्रणाली पुराना दलहरूको अभ्यासभन्दा पूर्ण रूपमा फरक हुने दाबी गर्दै सो प्रक्रिया वैज्ञानिक, आधुनिक र खुला प्रतिस्पर्धामा आधारित हुने स्पष्ट गरे ।
पन्तका अनुसार रास्वपा देशभरि, विशेषगरि मधेस र पर्सामा छरिएर रहेका योग्य, इमान्दार, विज्ञता हासिल गरेका तथा सामाजिक योगदानमा सक्रिय व्यक्तिहरूलाई समानुपातिक कोटाबाट प्रतिनिधि सभा पुर्याउन चाहन्छ । उनले पुराना दलहरूले समानुपातिक निर्वाचन प्रणालीको मर्म विपरित आफन्तपरस्ती र भागबण्डामा उम्मेदवार वितरण गर्ने परम्परा तोड्न रास्वपा प्रतिबद्ध रहेको बताए ।
‘देशका लागि केही गर्न चाहने तर पुराना दलको गुटबन्दी र संरचनागत सीमाकारण अवसर नपाएका व्यक्तिहरूलाई प्रतिनिधि सभा पुग्ने बाटो बनाइदिन रास्वपा कटिबद्ध छ,’ पन्तले भने । उनका अनुसार रास्वपाको समानुपातिक छनोट प्रक्रिया पूर्ण रूपमा निष्पक्ष, प्रतिस्पर्धामूलक र पारदर्शी हुनेछ ।
यससँगै रास्वपामा प्रवेश गर्न इच्छुक तथा आगामी चुनावमा समानुपातिकतर्फ उम्मेदवार बन्न चाहने व्यक्तिहरूलाई मंसिर २९ गतेभित्र आवेदन दिन आग्रह गरिएको पनि सभापति पन्तले जानकारी दिए ।
पत्रकार सम्मेलनमा रास्वपाका केन्द्रिय सदस्य डा. नन्दन यादव, मधेस प्रदेश सञ्चार प्रमुख राम सर्राफ, संगठन विभाग उपप्रमुख प्रमोद कुमार, शिक्षा प्रमुख सबु कँडेल, उपप्रमुख सोनालाल पटेल, जिल्ला कोषाध्यक्ष दिलिप प्रसाद कुर्मी, जिल्ला सहसचिव तथा पर्सा संगठन प्रमुख कृष्ण पासवान, नेता पुरुषोत्तम उपाध्याय, प्रदीप पटेलसहित ठूला संख्यामा नेता कार्यकर्ताहरूको उपस्थिति थियो ।








प्रतिक्रिया दिनुहोस् !