वीरगंज (पर्सा), १२ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११ औँ केन्द्रीय महाधिवेशनलाई लक्षित गरी पर्सामा सुरु गरिएको प्रतिनिधि छनोट प्रक्रिया आन्तरिक विवादका कारण जटिल बन्दै गएको छ । छनौटमा गम्भिर धाँधली र मनोमानी भएको आरोप उठेपछि एक समूहले पार्टी कार्यालयमै तालाबन्दी गरेसँगै निर्वाचन प्रक्रिया पूर्ण रूपमा अवरुद्ध भएको छ ।
युवा क्लस्टरमा प्रदीप यादव र सन्तोष पासवानबीच प्रतिस्पर्धा चलिरहेको अवस्थामा यादवको उम्मेदवारी जबर्जस्ती खारेज गरिएको भन्दै असन्तुष्ट समूह सडकबाटै पार्टी कार्यालयमा धकेलिएको हो । उम्मेदवारी अमान्य गरिनु अन्यायपूर्ण र योजनाबद्ध निर्णय भएको दाबी गर्दै यादव पक्षले अब छिट्टै धर्ना कार्यक्रम समेत सुरु गर्ने तयारी गरेको जनाएको छ ।
यस्तै दलित समूहतर्फ क्षेत्र नं. १, वीरगंज महानगरपालिका वडा नं. ३२ का सोनालाल हजराको उम्मेदवारी पनि विवादको केन्द्रमा परेको छ । हालै मात्र अर्को पार्टी परित्याग गरि एमाले प्रवेश गरेका हजरा ७ वर्षे प्रावधान लागू नहुने श्रेणीमा परेपनि पर्साका केही नेताहरूले मनपरी ढंगले नियम लागू गरेको आरोप सुनिएको छ । सो विषयमा एमाले वीरगंज महानगर लेखा समितिका अध्यक्ष अजय साहले ‘अन्य पार्टीबाट आएका नेता–कार्यकर्तामा ७ वर्षे नियम लागू नहुने’ विधानकै प्रावधान स्मरण गराउँदै उम्मेदवारी कायम हुनुपर्ने पक्षमा स्पष्ट धारणा राखेका छन् ।
विवाद चर्किदै गएपछि प्रतिनिधि छनोट प्रक्रिया नै अनिश्चित बन्न पुगेको छ । पार्टी विधान विपरित नेताहरूले व्यक्तिगत स्वार्थअनुसार नियम व्याख्या र प्रयोग गरेको आरोप आन्तरिक श्रोतहरूले दिएका छन् ।
पर्सामा एमालेलाई पछिल्लो समय दुई ठूला समूहमा विभाजित रूपमा देख्न थालिएको पनि स्थानीय राजनीतिक विश्लेषकहरूको टिप्पणी छ । एकातिर निर्वतमान सांसद तथा केन्द्रिय सदस्य प्रभु हजरा र जिल्ला अध्यक्ष विश्वम्भर शर्माको समूह रहेको छ भने अर्कोतर्फ पूर्वमन्त्री एवं केन्द्रिय सदस्य राजकुमार गुप्ता, नेता जालिम मियाँ, पूर्व मेयर विजय सरावगीलगायतको समूह सक्रिय देखिन्छ ।
आन्तरिक गुटबन्दी, आरोप प्रत्यारोप र प्रक्रियागत विवादले महाधिवेशन प्रतिनिधि छनोट मात्र होइन, पर्सामा एमालेभित्रको शक्ति प्रतिस्पर्धा पनि थप तीव्र भएको संकेत दिइरहेको छ ।








प्रतिक्रिया दिनुहोस् !