कलैया (बारा), १२ मंसिर । बाराको प्रसौनीस्थित किरण वेभरेज नेपाल प्रा.लि.को ‘निर’ ब्राण्ड पानी उद्योगका व्यवस्थापक रामकिशोर सिंह मृत अवस्थामा फेला परेका छन् । धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा उनको शव उद्योग नजिकै भलुही चौक नजिक बिहान फेला परेको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरीक्षक उपेन्द्र श्रेष्ठका अनुसार घटनास्थलको प्रकृति गम्भीर देखिएको छ । विस्तृत अनुसन्धानका लागि तालिमप्राप्त कुकुर समेत प्रयोग गरिएको छ भने जिल्ला प्रहरी कार्यालयबाट डि.एस.पी. सहितको थप प्रहरी टोली घटनास्थलमै खटिएको छ ।
४२ वर्षीय रामकिशोर सिंह सर्लाहीको धनकौल गाउँपालिका निवासी भएपनि उनी लामो समयदेखि प्रसौनीस्थित पानी उद्योगमै बसेर व्यवस्थापनको काम गर्दै आएका थिए । प्रहरीले दिएको प्रारम्भिक विवरण अनुसार, सिंहको हत्या घाँटी रेटेर गरिएको देखिन्छ, जसले घटना योजनाबद्ध हुन सक्ने आशंका बढाएको छ ।
बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक विजय पण्डितका अनुसार घटनाबारे प्रहरीलाई बिहान करिब ८ बजे मात्र सूचना आएको थियो । प्रारम्भिक परीक्षण र अनुसन्धान अघि बढाउनुअघि सिंहका आफन्तको उपस्थितिको प्रतीक्षा गरिएको उनले बताए ।
घटनास्थल वीरगंजबाट करिब १० किलोमिटर पूर्व कलैया–रोडतर्फ पर्ने प्रसौनी क्षेत्रमा अवस्थित छ । प्रहरीले हत्या कसले, किन र कसरी गरियो भन्ने विषयमा सुदृढ प्रमाण संकलन तथा सम्भावित उद्देश्य पहिचान गर्न अनुसन्धानलाई तीव्र पारेको जनाएको छ ।
प्रहरीका अनुसार, घटनाको सम्पूर्ण विवरण आवश्यक अनुसन्धानपछि औपचारिक रूपमा सार्वजनिक गरिने छ ।









प्रतिक्रिया दिनुहोस् !