सिमरा (बारा), ३ मंसिर । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ स्थित सिमरा विमानस्थल वरिपरि बुधबार दिउँसो जेन–जी समूहका युवा र नेकपा (एमाले) कार्यकर्ताबीच झडप भएपछि स्थिति नियन्त्रणबाहिर पुगेको छ । घटनापछि जिल्ला प्रशासन कार्यालय बाराले दिउँसो १२ः३० बजेदेखि साँझ ८ बजेसम्म कर्फ्यु आदेश लागू गरेको छ भने सिमरा विमानस्थललाई अनिश्चितकालका लागि बन्द गरिएको छ ।
किन चर्कियो सिमरा क्षेत्रको अवस्था ?
नेकपा (एमाले)द्वारा मधेस प्रदेशस्तरीय ‘युवा जागरण अभियान’ अन्तर्गत परवानीपुर–४ चैनपुरमा आयोजना गरिएको कार्यक्रममा महासचिव शङ्कर पोख्रेल र पोलिटब्युरो सदस्य महेश बस्नेतलाई मुख्य वक्ताको रुपमा आमन्त्रण गरिएको थियो । उनीहरू बुधबार बिहान १०ः३५ को बुद्ध एयर विमान मार्फत सिमरा अवतरण गर्ने कार्यक्रम तय थियो ।
अघिल्लो वर्षदेखि जेन–जी समूहले बस्नेतका टिप्पणी तथा व्यवहारको विरोध गर्दै आएको छ । सोही क्रममा बस्नेतको आगमनविरुद्ध उनीहरूले मंगलबार रातिदेखि नै सामाजिक सञ्जालमार्फत कालो झण्डा प्रदर्शन र शान्तिपूर्ण विरोध कार्यक्रम गर्ने घोषणा गरेका थिए । बुधबार बिहानैदेखि सयौँ युवाहरु सिमरा विमानस्थल चोकमा प्लेकार्डसहित भेला भई नारावाजी गर्दै शान्तिपूर्ण प्रदर्शन गरिरहेका थिए । तर एमालेका केही कार्यकर्ताले विरोधमा उत्रिएका युवालाई धकेल्दै भिड्ने प्रयास गरेपछि तनाव झन् बढेको प्रहरीले जनाएको छ ।
त्यही बीच बाराका एक प्रभावशाली एमाले नेताले सडकमा उभिएको एक प्रदर्शनकारीलाई थप्पड हानेपछि अवस्था झनै बिग्रिएको थियो । थप्पडका कारण परिस्थिती केही मिनेटमै हिंसात्मक रूप लिएको थियो । आक्रोशित भीड विमानस्थलतर्फ अगाडि बढ्दै मुख्य गेटमा तोडफोड गर्यो, सिसा फुटायो, कुर्सी र टेवल बाहिर निकालेर आगो लगाउने प्रयास गर्यो र सडकमा टायर बालेर आवागमन अवरोध गर्यो । भीडबाट ढुङ्गा, इँटा र बोतल प्रहार हुन थालेपछि प्रहरीले अश्रुग्याँस, हवाई फायर र लाठीचार्जमार्फत भीडलाई तितरवितर गर्ने प्रयास गरेको थियो । झडपका क्रममा प्रहरी तथा प्रदर्शनकारी दुवैतर्फका केही व्यक्ति घाइते भएको बताइएको छ ।
कर्फ्यु तथा विमानस्थल बन्द
स्थिति झन् उग्र बन्दै गएपछि बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले मंसिर ३ गते दिउँसो १२ः३० बजेदेखि राति ८ः०० बजेसम्म कर्फ्यु आदेश जारी गरेका छन् । कर्फ्यु क्षेत्र गण्डक नहरदेखि पथलैया सडकखण्डसम्म राजमार्गको दायाँ–बायाँ ५०० मिटर तथा सिमरा विमानस्थल वरिपरि ५०० मिटर परिसर समेटिएको छ । यस क्षेत्रमा पाँचभन्दा बढी व्यक्तिको भेला, जुलुस, नारा वा हिँडडुल पूर्ण रूपमा निषेध गरिएको छ ।
एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, कूटनीतिक सवारी तथा हवाई टिकट बोकेका यात्रुलाई भने सुरक्षाकर्मीले आवश्यक सहजीकरण गरिरहेको जिल्ला प्रशासनले जनाएको छ । सिमरा विमानस्थल प्रमुख विष्णुप्रसाद अधिकारीका अनुसार, “दुई समूहबीच ढुङ्गा–बोतल प्रहार भएपछि सुरक्षा अवस्था कमजोर बनेको र जोखिम बढेकाले विमानस्थललाई अनिश्चितकालका लागि बन्द राखिएको हो ।” काठमाडौँबाट उडान भर्न लागेको पोख्रेल र बस्नेत सवार जहाजलाई रोकेर यात्रुहरूलाई प्रतीक्षालयमै राखिएको थियो । विमानस्थल बन्द भएपछि सयौँ यात्रु अलपत्र परेका छन् ।
हाल सिमरा क्षेत्र तनावग्रस्त छ । ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । बाराका प्रहरी प्रमुख एसपी सन्तोष तामाङले “परिस्थिति नियन्त्रणमा आइसकेको, सतर्कता उच्च राखिएको र सम्पूर्ण घटनाको विस्तृत अनुसन्धान भइरहेको” जानकारी दिएका छन् ।









प्रतिक्रिया दिनुहोस् !