सिमरा (बारा), ३ मंसिर । बारा जिल्लाको बाराको जीतपुरसिमरा क्षेत्रमा स्थानीय प्रशासनले बुधबार दिउँसोदेखि साँझसम्म कर्फ्यू आदेश जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय बाराले बुधबार अपरान्ह १२ः३० बजेदेखि राति ८ बजेसम्मको लागि कर्फ्यू आदेश जारी गरेको हो ।
परवानीपुर गाउँपालिका–४ स्थित चैनपुरमा आयोजित एक कार्यक्रममा सहभागी हुन नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेल र नेता महेश बस्नेत सिमरा विमानस्थल आउने खबर बाहिरिएपछि ‘जेन–जी’ युवाहरूको समूहले तीव्र विरोध गरेपछि उत्पन्न तनावपूर्ण अवस्थालाई नियन्त्रण गर्न स्थानीय प्रशासनले सिमरा विमानस्थल वरपर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको हो ।
नेकपा एमालेका दुई नेताहरु सिमरा विमानस्थलमा अवतरण गर्ने कार्यक्रमबारे खबर बाहिरिए लगत्तै ‘जेन–जी’ युवाहरूको समूहले तीव्र विरोध जनाएका थिए । युवाहरूले विमानस्थल चोकमा भेला भएर “शङ्कर–महेश फिर्ता जाऊ, सिमरा छोडेर जाऊ” जस्ता नारा लगाउँदै विरोध प्रदर्शन गरेका थिए । केही समयमै प्रदर्शन उग्र बनेपछि एमाले निकटका कार्यकर्तासँग हात हालाहाल र ढुङ्गा मुढा समेत भएको थियो ।
प्रदर्शनकारीले सिमरा विमानस्थलको मुख्य गेटमा तोडफोड गर्नुका साथै अन्य केही भौतिक संरचनामा समेत क्षति पुर्याएका छन् । प्रहरी र प्रदर्शनकारीबीच ढुङ्गा हानाहान हुँदा केही युवाहरू घाइते समेत भएको बताइएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस समेत प्रहार गरेको थियो ।
तोडफोड र झडपका कारण सिमरा विमानस्थल अनिश्चित समयका लागि बन्द गरिएको छ र बुधबारका सबै आन्तरिक उडान रद्द गरिएको छ । जसले गर्दा सयौँ यात्रु अलपत्र परेका छन् । स्थिति थप बिग्रन नदिन बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले मंसिर ३ गते दिउँसो १२ः३० बजेदेखि राती ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेका छन् । आदेश गण्डक नहरदेखि पथलैया सडक खण्डको राजमार्गको दायाँ–बायाँ पाँच सय मिटर क्षेत्र र सिमरा विमानस्थलको वरिपरि पाँच सय मिटर क्षेत्रमा लागू हुनेछ । कर्फ्यु अवधिमा कसैले पनि आवतजावत गर्न, भेला हुन, जुलुस निकाल्न, प्रदर्शन गर्न वा घेराउ गर्न पाइने छैन ।
जिल्ला प्रहरी कार्यालय बाराबाट ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको र घाइतेहरूलाई स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ । प्रशासनले सबै पक्षलाई संयम अपनाउन र शान्ति कायम गर्न आग्रह गरेको छ भने परिस्थिति सामान्य नभए कर्फ्युको समय थप गर्न सकिने जनाएको छ ।








प्रतिक्रिया दिनुहोस् !