वीरगंज (पर्सा), ९ कात्तिक । नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादवले जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) का अध्यक्ष उपेन्द्र यादव नेतृत्वको अधिनायकवादी सोच र सम्झौता गर्ने प्रवृत्तिको कारण जनता समाजवादी पार्टी (जसपा) गठन गरिएको बताएका छन् । शुक्रवार वीरगंजमा आयोजित जनता समाजवादी पार्टी (जसपा) निकट संघीय शिक्षक फोरमको पर्सा जिल्ला कार्यसमिति र वीरगंज महानगर कमिटी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले जसपा नेपालको नेतृत्वले अधिनायकवादलाई प्रश्रय दिएर, धोका दिने बानी बसालेर पार्टीको मूल उद्देश्यलाई कमजोर बनाएको कारण जसपाको स्थापना गरिएको बताए ।
उनले भने, ‘जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सत्ताको लोभमा मधेससँग दर्जनौँ पटक धोका गरे । पार्टीमाथि तानासाह जस्तो एकलौटी शासन गरे । असह्य भएर हामीले पार्टीबाट छुटिन निणर्य गर्यौँ ।’ मन्त्री यादवले मधेसमा मात्र सीमित रहने योजना नभएको भन्दै जसपा समग्र नेपालमा स्थायी रूपले स्थापित हुने दृढता व्यक्त गरे । उनले भने, ‘अब हामी मधेसको मुद्दालाई मात्र होइन, नेपालभरिका नागरिकहरूको हितका लागि पनि काम गर्नेछौँ । जसपाको नीति र दृष्टिकोणले समाजमा नयाँ प्रकारको सकारात्मक परिवर्तन ल्याउनेछ, जहाँ युवा, महिला, र अन्य समावेशी समूहको सहभागिता महत्वपूणर् हुनेछ ।’ पर्सा जिल्लामा मात्र नभई मधेसभरि जसपा नेपालको छिट्टै अन्त्य हुने दाबी गर्दै मन्त्री यादवले थपे, ‘जसपा नेपाल विभाजन हुनु अनिवार्य थियो, किनकि वर्तमान नेतृत्वले मधेसको मुद्दालाई कमजोर बनाउँदै आएको थियो । अब हामीले स्थापित गरेको जसपा जनताको भावनालाई सम्बोधन गर्दै देशभरि सशक्त रूपमा अघि बढ्नेछ ।’ 
उनले पार्टीको नीतिहरू र नवप्रवर्तनलाई सम्बोधन गर्दै यसले समाजका सबै वर्गहरूको जीवनस्तर उकास्न ठोस कदम चाल्ने बताए । ‘हामी राजनीतिक सीमारेखामा सीमित रहन चाहन्नौँ, हाम्रो उद्देश्य जनताको जीवनमा प्रत्यक्ष सुधार ल्याउने हो । जसपाले विकासका कार्यहरूमा केन्द्रित हुँदै स्थानीय समस्या समाधान गर्नेछ र जनताको अपेक्षाहरू पूरा गर्ने दिशामा कदम चाल्नेछ,’ उनले भने । मन्त्री यादवले पर्सामा शिक्षक फोरमको नयाँ नेतृत्वले जसपा पार्टीलाईपनि अझ सशक्त बनाउने विश्वास लिएको बताए । उनले जनताको सेवामा जसपा अझ सकृयताका साथ लाग्ने भन्दै एकताबद्ध संगठन र जन समर्पित नेतृत्वको बलमा साझा उद्देश्यहरू हासिल गर्ने लक्ष्यमा अगाडि बढ्न नेताकार्यकर्तालाई निर्देशनपनि दिए ।
कार्यक्रममा वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले पार्टीलाई सुदृढ बनाउन र जसपाको राजनीतिक रणनीतिलाई सशक्त बनाउन एकजुट भएर लाग्नुपर्ने बताए । उनले भने, ‘महिला सशक्तीकरण र युवा नेतृत्व विकासमा विशेष ध्यान दिन आवश्यक छ । त्यस्तै अन्य पिछडिएका समुदायलाई पनि समेटेर सबै वर्गको प्रतिनिधित्व हुने किसिमको पार्टी हामीले स्थापित गर्नुपर्छ ।’ प्रमुख सिंहले कार्यकर्ताहरूलाई चुनाव जित्नका लागि मात्र नभई जनताको हितमा काम गर्न प्रेरित गर्दै भने, ‘जसपाले जनताको जीवनमा सुधार ल्याउनका लागि हरेक सम्भावनाको खोजी गर्नेछ । अब यो पार्टी सबै तह र वर्गका नागरिकहरूको आवाज बन्नेछ ।’
सोही कार्यक्रमबीच हरिन्द्र प्रसाद चौरसियाको अध्यक्षतामा संघीय शिक्षक फोरमको ५१ सदस्यीय जिल्ला कार्यसमिति गठन गरि घोषणा गरिएको थियो । जिल्ला कार्यसमितिको सहअध्यक्षमा पिंकी यादव, सचिवमा रामाधार प्रसाद साह, सहसचिवमा द्वारिका चौहान र कोषाध्यक्षमा रेणु श्रेष्ठ रहेका छन् । यस्तै कार्यक्रममा संघीय शिक्षक फोरमको वीरगंज महानगर कार्यसमितिपनि घोषणा गरियो । मन्त्री यादवको प्रमुख आतिथ्यता तथा वीरगंज महानगरपालिकाका मेयर एंव जसपाका केन्द्रीय सदस्य राजेशमान सिंहको विशेष आतिथ्यतामा भएको कार्यक्रममा जसपाका केन्द्रीय सदस्य मोहन चौधरी, संघीय परिषद् सदस्य विपिन यादव, जिल्ला अध्यक्ष सिंगासन साह तेली, महानगर अध्यक्ष ईश्वरचन्द्र यादव, नेताहरु तबरेज अहमद, असलम आलम लगायतको उपस्थिति रहेको थियो ।








प्रतिक्रिया दिनुहोस् !