वीरगंज (पर्सा), २९ असोज । वीरगंज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा उपलब्ध गराइदिने प्रलोभन देखाएर सर्वसाधारणसँग रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना बिचौलियालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही घर भई हाल काठमाडौंमा डेरा गरी बस्दै आएका अन्दाजी २७ वर्षीय प्रविण साह रहेका छन् । उनले आफू सशस्त्र प्रहरी सहायक निरीक्षक भएको र भन्सार कार्यालयका एजेन्टहरूसँग राम्रो चिनजान रहेको दाबी गर्दै सर्वसाधारणलाई झुक्याएर रकम असुल्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय, पर्साका अनुसार साहले भन्सारबाट लिलाम बिक्री हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा मिलाइदिने आश्वासन दिएर विभिन्न व्यक्तिलाई आफ्नो विश्वासमा पार्ने गरेका थिए । लिलाम प्रक्रियामा सहभागी गराइदिने भन्दै उनले पीडितहरूलाई विभिन्न प्रलोभन देखाएर अलग–अलग बैंक खातामा रकम जम्मा गर्न लगाउने गरेको आरोप छ । रकम प्राप्त गरेपछि भने उनी सम्पर्कविहीन हुने गरेको प्रहरीको भनाइ छ । भन्सारको लिलाम प्रक्रियामा पहुँच रहेको भन्दै विश्वास दिलाएर रकम असुल्ने शैली अपनाएको आरोपमा प्रहरीले उनको खोजी गरिरहेको थियो ।
प्रहरीको विशेष टोलीले साहलाई असोज २२ गते वीरगञ्ज महानगरपालिका–८, घण्टाघर क्षेत्रबाट पक्राउ गरेको हो । पक्राउ परेका साहमाथि कानुनबमोजिम म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिएका छन् ।
यस प्रकरणमा अन्य व्यक्तिको संलग्नता रहे–नरहेकोबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ । सम्भावित संलग्न व्यक्तिहरूको पहिचान तथा घटनासँग सम्बन्धित प्रमाण संकलनका लागि निगरानीसमेत बढाइएको प्रहरीले जनाएको छ । भन्सारबाट लिलाम हुने सामान सस्तो मूल्यमा दिलाइदिने आश्वासन दिएर रकम माग्ने व्यक्तिहरूबाट सावधान रहन प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ । यस्ता प्रलोभनमा परी रकम नदिन, शंकास्पद व्यक्तिको सम्पर्कबाट टाढा रहन तथा ठगीसम्बन्धी कुनै सूचना प्राप्त भए नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन प्रहरीले अनुरोध गरेको छ । 

























प्रतिक्रिया दिनुहोस् !