वीरगंज (पर्सा), २६ असोज । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा आर्थिक वर्ष २०८३/८४ को बजेट पारित भइसके पनि गाउँपालिकाको बैंक खाता सञ्चालन हुन नसक्दा कर्मचारीको तलब, शिक्षकको पारिश्रमिक र विकास योजनादेखि सामाजिक सुरक्षा भत्तासम्म प्रभावित हुने अवस्था सिर्जना भएको छ । गाउँपालिका उपाध्यक्ष शर्मिला विष्ठले अध्यक्ष जसवन्त यादवको व्यक्तिगत स्वार्थ र प्रमुख प्रशासकीय अधिकृतसम्बन्धी विवादका कारण यस्तो अवस्था आएको आरोप लगाउँदै तत्काल समस्या समाधान गर्न ध्यानाकर्षण गराएकी छन् ।
अध्यक्ष यादवलाई सम्बोधन गरी जारी गरिएको ध्यानाकर्षणपत्रमा उपाध्यक्ष विष्ठले गाउँपालिकाको खाता सञ्चालनमा देखिएको अवरोधले स्थानीय तहको नियमित कामकाज र नागरिकले पाउने सेवासुविधामा असर पारेको उल्लेख गरेकी छन् । उनका अनुसार खाता सञ्चालन हुन नसक्दा साउन महिनादेखि गाउँपालिकाअन्तर्गत कार्यरत कर्मचारी तथा शिक्षकले तलब, भत्ता र अन्य सेवा–सुविधा पाउन सकेका छैनन् । गाउँपालिका र वडा तहबाट सञ्चालन हुने विकास निर्माणका योजना तथा कार्यक्रमसमेत प्रभावित भएका छन् ।
सामाजिक सुरक्षा भत्ता रोकिने चिन्ता
खाता सञ्चालनमा अवरोधसँगै प्रमुख प्रशासकीय अधिकृतलाई खर्च गर्ने अख्तियारी नदिइएको विषयले सामाजिक सुरक्षा भत्ता वितरणमा समेत समस्या निम्त्याउन सक्ने उपाध्यक्ष विष्ठले बताएकी छन् । वृद्धवृद्धा, विधवा, अपाङ्गता भएका व्यक्ति तथा अन्य लाभग्राहीले पाउँदै आएको भत्ता रोकिन सक्ने अवस्था आउन लागेको भन्दै उनले चिन्ता व्यक्त गरेकी छन् ।
दसैँ सुरु भइसकेको र तिहार तथा छठजस्ता प्रमुख चाडपर्व नजिकिँदै गरेको अवस्थामा कर्मचारीको पारिश्रमिक र नागरिकको सामाजिक सुरक्षा भत्तासमेत प्रभावित हुने जोखिमलाई उनले गम्भीर विषयका रूपमा उठाएकी छन् ।
इन्धन अभावमा एम्बुलेन्ससमेत सञ्चालनमा समस्या
उपाध्यक्ष विष्ठले गाउँपालिकाले एम्बुलेन्स निःशुल्क सञ्चालन गर्ने घोषणा गरे पनि इन्धन अभावका कारण सेवा सञ्चालन हुन नसकेको आरोपसमेत लगाएकी छन् । उनका अनुसार अध्यक्षको व्यक्तिगत स्वार्थका कारण शिक्षा क्षेत्र प्रभावित भइसकेको छ भने अब स्वास्थ्य सेवासमेत प्रभावित हुने जोखिम बढेको छ ।
ध्यानाकर्षणपत्रमार्फत उनले अध्यक्ष यादवलाई व्यक्तिगत स्वार्थ, रिसराग र घमण्ड त्यागेर तत्काल गाउँपालिकाको बैंक खाता सञ्चालन हुने व्यवस्था मिलाउन आग्रह गरेकी छन् । साथै, विकास निर्माणका कामलाई गति दिन, सार्वजनिक सेवा प्रवाह नियमित बनाउन तथा कर्मचारीले पाउनुपर्ने तलब र सुविधाको व्यवस्था गर्न आवश्यक पहल गर्न अनुरोध गरेकी छन् ।
बजेट पारित भइसकेको अवस्थामा समेत खाता सञ्चालन हुन नसकेको विषयले गाउँपालिकाको प्रशासनिक कामकाज र सेवा प्रवाहमा प्रश्न उठाएको छ । यद्यपि, खाता सञ्चालनमा अवरोध हुनुको कारणबारे अध्यक्ष यादवको पक्षबाट प्रतिक्रिया प्राप्त भएको विवरण उपलब्ध छैन । 




















प्रतिक्रिया दिनुहोस् !