वीरगंज (पर्सा), २६ असोज । ऋण चुक्ता गर्न तयार हुँदाहुँदै धितोमा राखिएको घरजग्गा बैंकले लिलाम गरिदिएको आरोप लगाउँदै महिलाहरूको एक समूहले वीरगंजस्थित एनआईसी एसिया बैंकको शाखाअगाडि धर्ना दिएको छ । बैंकले आफूहरूको घरजग्गा फिर्ता नगरेसम्म आन्दोलन नरोकिने चेतावनी दिँदै उनीहरू तीन दिनदेखि धर्नामा बसेका छन् ।
धर्नामा सहभागी सरस्वती सिंहले बैंकका कर्मचारी लक्ष्मण चालिसा, अमित जट्ट र अमित केशीसहित चार जनाको मिलेमतोमा आफूहरूको जग्गा कब्जा गरिएको गम्भीर आरोप लगाएकी छन् । उनका अनुसार दुई करोड २५ लाख रुपैयाँ ऋण लिँदा धितो राखिएको वीरगंजस्थित आर्मी ब्यारेक पछाडिको अढाई कठ्ठा जग्गा बैंकले आफूहरूलाई जानकारी नै नदिई लिलाम गरेको हो ।
सिंहले उक्त जग्गा आफ्नी भाइबुहारी साहेना खातुनको नाममा रहेको जानकारी दिइन् । बुहारीलाई उपचारका लागि अस्पतालमा भर्ना गर्नुपरेकाले दुई किस्ताको रकम समयमै बुझाउन नसकिएको उनको भनाइ छ । तर, पछि किस्ताको रकम जम्मा गर्न तयार रहेको जानकारी गराउँदासमेत बैंकले जग्गा लिलाम गरी अर्कै व्यक्तिको नाममा हस्तान्तरण गरिदिएको उनले आरोप लगाइन् ।
ऋण नतिरेपछि कानुनी प्रक्रियाअनुसार लिलामः बैंक
यता, बैंकका शाखा प्रबन्धक अमित हर्लकाले ऋण चुक्ता नभएपछि आवश्यक प्रक्रिया पूरा गरेर धितोमा राखिएको जग्गा लिलाम गरिएको दाबी गरेका छन् । उनले ऋणसम्बन्धी सम्पूर्ण विवरण सार्वजनिक गर्न नमिल्ने बताउँदै ऋणसँग प्रत्यक्ष सम्बन्ध नभएका व्यक्तिहरूले बैंकअगाडि धर्ना दिएर संस्थाको प्रतिष्ठामा आँच पुर्याउन खोजेको आरोप लगाए ।
बैंकले ऋण असुलीका लागि आवश्यक प्रक्रिया पूरा गरिएको दाबी गरिरहँदा पीडित भनिएका महिलाहरूले भने आफूहरूको सम्पत्ति अन्य व्यक्तिको नाममा पुगेको भन्दै विरोध जनाएका छन् । उनीहरूले घरजग्गा फिर्ता नभएसम्म धर्ना र आन्दोलनलाई निरन्तरता दिने अडान दोहोर्याएका छन् ।
ऋण असुलीका नाममा धितो लिलाम गरिएको विषयमा बैंक र धर्नाकारी पक्षबीच आरोप–प्रत्यारोप बढ्दै गएको छ । अब विवादको निरूपणका लागि लिलामी प्रक्रिया, सम्बन्धित कागजात र दुवै पक्षका दाबीको निष्पक्ष छानबिन महत्वपूर्ण देखिएको छ । 




















प्रतिक्रिया दिनुहोस् !