वीरगंज (पर्सा), २६ असोज । वीरगंज महानगरपालिकासहित बारा र पर्साका ६ पालिकालाई एउटै सार्वजनिक यातायात सञ्जालमा जोड्ने तयारी अघि बढाइएको छ । ग्रामीण बस्तीका नागरिकलाई बजार, अस्पताल, विद्यालय तथा सरकारी कार्यालयसम्म सहज पहुँच उपलब्ध गराउने लक्ष्यसहित अन्तरपालिका यातायात सेवा सञ्चालनका लागि अध्ययन प्रक्रिया अघि बढाइएको हो ।
वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको अध्यक्षतामा बसेको अन्तरपालिका बैठकले प्रस्तावित सेवा सञ्चालनको सम्भाव्यता अध्ययन, आवश्यक समन्वय र सञ्चालनको ढाँचा तय गर्न समिति गठन गरेको छ । समितिले तयार पार्ने प्रतिवेदनका आधारमा यातायात सेवा सञ्चालनसम्बन्धी आगामी प्रक्रिया अघि बढाइनेछ ।
महानगरपालिकाको राजस्व प्रशासन महाशाखा प्रमुख सुनिल आचार्यको संयोजकत्वमा गठित समितिमा सम्बन्धित पालिकाका प्रतिनिधिहरूलाई सदस्यका रूपमा समेटिएको छ । समितिमा जितपुरसिमरा उपमहानगरपालिकाका लेखापाल हरिशंकर प्रसाद कुर्मी, कलैया उपमहानगरपालिकाका अजय उप्रेती र परवानीपुर गाउँपालिकाका कृष्णकुमार यादवसहितका प्रतिनिधि सहभागी छन् ।
समितिले सम्भावित रुट निर्धारणदेखि सवारी व्यवस्थापन र सञ्चालन प्रणालीसम्मका विषयमा अध्ययन गर्नेछ । यातायात सेवा सञ्चालन गर्दा लाग्ने खर्च, इन्धन, चालक तथा सहचालकको पारिश्रमिक, नियमित सर्भिसिङ, मर्मतसम्भार र सम्बन्धित पालिकाबीच खर्च बाँडफाँटको व्यवस्थालाई पनि अध्ययनको दायरामा राखिएको छ ।
बैठकमा प्रसौनी गाउँपालिका र पोखरिया नगरपालिकासँग समेत समन्वय गरी आगामी बैठकमा उनीहरूलाई सहभागी गराउने विषयमा छलफल भएको छ ।
ग्रामीण बस्तीका नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा
प्रस्तावित सेवा सञ्चालनमा आए मुख्य सडक र नियमित सार्वजनिक यातायातको पहुँचबाट टाढा रहेका बस्तीका नागरिकलाई आवागमनमा सहजता हुने अपेक्षा गरिएको छ । विशेषगरी स्वास्थ्य उपचार, शिक्षा, व्यापार तथा प्रशासनिक कामका लागि यात्रा गर्ने सर्वसाधारणले पटक–पटक सवारी फेर्नुपर्ने बाध्यता कम हुने र निजी सवारीमा निर्भरता घट्ने विश्वास गरिएको छ ।
अन्तरपालिका यातायात सञ्जालले सहरी क्षेत्र र ग्रामीण बस्तीबीचको आवागमन सहज बनाउनुका साथै सार्वजनिक यातायातको पहुँच विस्तारमा समेत सहयोग पुर्याउने अपेक्षा गरिएको छ । यद्यपि, सेवा सञ्चालनको मिति, रुट र भाडादरबारे भने अध्ययन प्रतिवेदनपछि टुंगो लाग्नेछ ।
बैठकमा जितपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेल, कलैया उपमहानगरपालिकाका प्रमुख विनोद साह र परवानीपुर गाउँपालिकाका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीलगायत सहभागी थिए । वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर बोहरा र सूचना अधिकृत किर्तिराज सुवेदीको पनि उपस्थिति रहेको थियो । 




















प्रतिक्रिया दिनुहोस् !