वीरगंज (पर्सा), ७ चैत । रौतहट र सर्लाहीका तीन युवक मोटरसाइकल चोरीको अभियोगमा ललितपुरबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही बरहथवा नगरपालिका २ घर भई टीकाथली बस्दै आएका २३ वर्षीय विशाल महतो, बरहथवा २ घर भई काठमाडौँ महानगरपालिका २३‚ नरेफाँट बस्ने २९ वर्षीय भीमबहादुर अधिकारी र रौतहट वृन्दावन नगरपालिका ९ घर भई हाल काठमाडौं कोटेश्वर बस्ने २७ वर्षीय सन्जीवकुमार कुसवाहा छन् ।
ललितपुरको महालक्ष्मी नगरपालिका ५‚ टीकाथलीमा ‘बाइक हस्पिटल’ नामक ग्यारेज सञ्चालन गरी चोरीका मोटरसाइकल खरिद–बिक्री गर्ने गरेको आरोपमा समूह नै पक्राउ परेको हो । जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार ग्यारेजमा छापा मारी विभिन्न स्थानबाट चोरी गरी ल्याइएका मोटरसाइकल बरामद गरिएको छ ।
प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार चोरीका मोटरसाइकलमा इन्जिन र चेसिस नम्बरसमेत फेरबदल गरी नक्कली कागजात तयार पारेर बिक्री गर्ने गरिएको पाइएको छ । प्रहरीले उनीहरूको साथबाट केटीएम ड्यूक २५०, केटीएम ड्यूक २००, रोयल इन्फिल्ड ३५० र केटीएम एड्भेन्चर २५० गरी चारवटा मोटरसाइकल बरामद गरेको जनाएको छ ।








प्रतिक्रिया दिनुहोस् !