• हरिशंकर शर्मा
वीरगंज (पर्सा), १० चैत / पर्साको पटेर्वासुगौली गाउँपालिका स्थित शिवम् लेयर्स फार्म प्रा.लि. उद्योग १५ दिन भित्र बन्द गर्न गाउँपालिकाले निर्देशन दिएको छ । वडा नं. २ गादी स्थित कुखुराको अण्डा उत्पादन गर्ने उक्त उद्योगले फैलाएको दुर्गन्धको कारण ५ वटा बस्तीका १० हजार भन्दा बढि नागरिकहरु महामारीको उच्च जोखिममा रहेको समाचारहरु प्रकाशन भएपछि १५ दिन भित्र उद्योग बन्द गर्न निर्देशन दिइने पालिकाले निर्णय गरेको हो ।
यही मिति २०७९ चैत ८ गते कार्यपालिकामा बसेको बैठक सो निर्णय गरेको पटेर्वासुगौली गाउँपालिकाले जानकारी दिएको छ । चैत ८ गते बसेको कार्यपालिकाको बैठकको निर्णय नं. १ अनुसार विभिन्न मितिमा त्यस क्षेत्रका १ सय भन्दा बढि नागरिकले शिवम् लेयर्स फार्म उद्योगलाई आवश्यक कारवाहीको लागि दिएको उजुरी उपर छलफल गरि उद्योग संचालनको अनुमति दिने निकायले तोकेको शर्तहरु पालना गर्न जानकारी गराउँदा पनि उद्योगले अटेरी गर्दै आएको कारण पालिकाले यस्तो निर्णय लिएको हो ।
पालिकाले दिएको जानकारी अनुसार २०७८ चैत २३ गते पालिकाको न्यायिक समितिद्वारा भएको उद्योग संचालनको अनुमति दिने निकायले तोकेको शर्तहरु तथा प्रचलित कानून अनुसारको वातावरण प्रदूषण सम्बन्धी मापदण्ड पालना गर्न जानकारी गराउँदा समेत उद्योगले शर्तहरु पुरा नगरेको र मापदण्ड विपरित उद्योग संचालन गर्दै आएको जनाएको छ । त्यस पश्चात दिन प्रतिदिन जनगुनासोहरु बढ्दै जाँदा पालिकाले उद्योगलाई पटक पटक मौखिक तथा लिखित ताकेता गर्दा पनि अटेरी गर्दै आएकोले दुर्गन्ध बढ्नुको साथै झिँगा भन्किने समस्या बढ्दै गएकोले यही मिति २०७९ चैत २ गते गरिएको अनुगमन समितिको प्रतिवेदन अनुसार उद्योग बन्द गर्न १५ दिन भित्र निर्देशन दिइने निर्णय गरिएको हो । अनुगमन समितिले दिएको प्रतिवेदनमा नेपालको संविधान, २०७२ को धारा ३०, स्वच्छ वातावरणको हक (मौलिक हक) बाट गाउँपालिकाको हजारांै नागरिकहरुलाई बञ्चित गराइएको, फोहरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३८ अनुसार र वातावरण संरक्षण ऐन २०७६ विपरित कार्य गरि छरछिमेकको नागरिकहरुको स्वास्थ्यसँग गम्भिर खेलवाड गरेको र फोहरमैला व्यवस्थापन नियमावली, २०७० को नियम ११ अनुसारको फोहरमैला व्यवस्थापन सम्बन्धी गाउँपालिकाको कार्यालयसँग अनुमति समेत नलिइएकोले उल्लेख गरिएको छ ।
अनुगमन समितिको प्रतिवेदनमाथि भएको छलफल पश्चात नेपालको संविधान २०७२ को अनुसूचि ८ को बुंदा नं. १० को अधिकार, स्थानीय सरकार संचालन ऐन २०७४ र अन्य प्रचलित कानून अनुसार गाउँपालिकाले लिखित तथा मौखिक निर्देशन दिँदा त्यसलाई वेवास्ता गर्दै नागरिकको स्वास्थ्यसँ गम्भिर खेलवाड गरेकोले उक्त उद्योगलाई १५ दिन भित्र बन्द गर्न लेखि पठाउने र सोको जानकारी सम्बन्धित निकायहरुलाई गराउने निर्णय गरिएको पालिकाकी उप प्रमुख ममता चौधरीले जानकारी दिइन् ।
सो निर्णयको बोद्धार्थ कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय सिंहदरबार काठमाडौं, जिल्ला प्रशासन कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा, भेटिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्सा, घरेलु तथा साना उद्योग कार्यालय वीरगंज (पर्सा) लाई पठाएको गाउँपालिकाले जनाएको छ । उद्योगको कारण त्यस क्षेत्रका २ हजार भन्दा बढि घरधुरीका १० हजार भन्दा बढि नागरिकहरु विभिन्न रोगको महामारीको उच्च जोखिममा छन् भने अधिकाँश बालबालिका, वृद्धवृद्धाहरु विभिन्न रोगबाट ग्रसित छन् । उद्योगले कुखुराको दिशा र मरेका कुखुराको उचित व्यवस्थापन नगर्दा त्यस क्षेत्रका स्थानीयहरु झिँगाको प्रकोपबाट बढि प्रभावित छन् । विहानदेखि रातिसम्म झिँगाले स्थानीयलाई प्रभावित पारि रहेका हुन्छन् नै, त्यसमाथि विभिन्न प्रकारको रोगको महामारी नै फैलाएको छ ।
वीरगंजका नामुद व्यापारी शिवजी कलवारले संचालन गर्दै आएको उक्त उद्योगले फैलाएको दुर्गन्धबाट वरिपरि करिब ५ देखि ७ किलोमिटर वरिपरिका बासिन्दाहरु दुर्गन्ध एवं झिँगाबाट बढि प्रभावित छन् । दैनिकी जीवनको सबै प्रकारको कार्यमा झिँगाले प्रभावित पारेको छ । खाना पकाउँदा खानामा झिँगा पर्ने, खाना खाँदा झिँगा पर्ने, बालबालिकाहरु केही खाना खाँदा झिँगा अल्झिएको खाना खाने, नाक मुख जीउ भरि नै झिँगै झिँगा भन्कि रहने जस्ता समस्याले उद्योग वरिपरि क्षेत्र रहेका बस्तीका १० हजार भन्दा बढि सर्वसाधारण प्रभावित बनेको स्थानीयहरुको भनाई छ ।
उनीहरुका अनुसार गन्हाउने समस्याले गर्दा खाना समेत खान सकिदैन, झिँगाले गर्दा झुल लगाएर खाना खानुपर्छ, त्यसले पनि मान्दैन भन्दै झिँगा सहितको खाना खाएकै कारण आफ्नो ७ वर्षीय बच्चा विरामी परेको स्थानीय कपिलदेव सहनी बताउँछन् । अनावश्यक झिँगा भन्किने कार्यले गर्दा स्वास्थ्यमा समस्या हुनुका साथसाथै बालबालिका एवं गर्भवति महिलाको स्वास्थ्यमा पनि गम्भिर असर पारि रहेको छ । जस्तोसुकै सफासुघर रहेपनि झिँगाले स्थानीयलाई आजित बनाई रहेका हुन्छन् । उद्योग वरिपरिको बस्तीमा प्रवेश गर्ने वित्तिकै जीउ नै झिँगाले ढाक्छ । उद्योगले वडा नं. १ र २ को करिब ५ वटा वस्तीमा बसोबास गर्ने सर्वसाधारणहरुको स्वास्थ्यमा प्रत्यक्ष असर पारि रहेको छ । कामको शिलशिलामा पुरुषहरु वस्ती बाहिर गएपनि महिलाहरु दिनभरि झिँगा भगाउँदै बस्छन् । उद्योग संचालनको बखत दाल उद्योग संचालन हुने र स्थानीयहरुलाई जागिर दिने प्रलोभन देखाई संचालन भएको उद्योगले फैलाई रहेको दुर्गन्धको मार स्थानीयहरु विगत ५ वर्षदेखि झेल्दै आई रहेका छन् ।
झिँगा आतँकले त्यस क्षेत्रमा महामारी फैलाउने उच्च सम्भावना छ । अहिले पनि त्यस क्षेत्रका अधिकाँश बालबालिकाहरु झाडापखाला, हैजा लगायत छाला सम्बन्धी विभिन्न प्रकारको रोगले ग्रसित छन् । त्यो भन्दा पनि गर्भवती महिला झिँगा आतँकबाट बढि प्रभावित छन् । वस्तीका बालबालिका र वृद्धवृद्धा सधैं विरामी नै रहन्छन् । खाना बनाउँदा खाना मै झिँगा पर्छ, पस्किदा खानामा झिँगा पर्छ, झुल लगाएर खाना खादा पनि झिँगा सँगै खाना खाने बानी नै भइसकेको स्थानीयहरुको गुनसो छ ।
प्रतिक्रिया दिनुहोस् !