वीरगंज (पर्सा), ४ फागुन / २२ भदौ २०५८ मा देशमा युद्धविराम थियो । तर, पर्सा जिल्लाको एउटा गाउँमा युद्धविराम निष्प्रभावी बन्यो र बस्ती युद्धस्थलमा परिणत भयो । गाउँमा आमसभा गर्न खोज्ने माओवादी र उनीहरूलाई गाउँ पस्न नदिन बनेको प्रतिकार समितिबीचको भिडन्तले गाउँ अशान्त थियो । त्यहाँ आमसभा गर्न पुगेका १३ माओवादी कार्यकर्तामध्ये केही पक्राउ परे, केही भागे । तीन जना महिलालाई भने प्रतिकार समितिले कब्जामा लियो । प्रतिकार समितिले त्यो गाउँका केही घरमा आगो लगाइदियो । प्रहरीले पक्राउ गरेका माओवादीका स्थानीय कार्यकर्ता समय क्रममा छुटे । तर, प्रतिकार समितिले पक्राउ गरेका तीन महिला सार्वजनिक रूपमै सामूहिक बलात्कारमा परे । त्यसमध्ये एक जनाको अहिलेसम्म पनि नामोनिसान छैन ।
त्यस दिन त्यहाँ सामूहिक बलात्कारमा पर्नेहरूलाई हामीले ए–१, बी–१ र सी–१ नाम दिएका छौं । उनीहरू तीनै जनालाई प्रतिकार समितिले चार दिनसम्म कब्जामा लिएर यातना दिएको थियो । ‘सात जनाले बलात्कार गर्दा म होशमै थिएँ’ ए–१ भन्छिन्, ‘अनि म बेहोश भएछु । होशमा आउँदा मेरो हातखुट्टा भाँचिएका थिए । शरीरभरि घाउ थिए ।’ सी–१ को स्तन टोकिएको थियो, शरीरभरि घाउचोट थिए । ‘जे गर्नु छ मलाई गर, त्यो बालिकालाई छाडिदेऊ भनेर ए–१ कराइन् । उनी भन्छिन्, ‘यो गाउँको मान्छे म हो । बरु मलाई मार । तर उनलाई छाडिदेऊ भनेर मैले भनें, तर उनीहरूले सुनेनन् ।’ यसपछि ‘दिदी’ भन्दै रोइरहेकी सी–१ को आवाज केही समयपछि बन्द भयो । भीडले पालैसँग बलात्कार गर्दै कुटपिट गर्दा उनी बेहोश भइछन् । ए–१ ले पछि सी–१ को रगताम्मे स्तन झुलुक्क देख्न पाएकी थिइन् ।
‘उनी सम्भवतः त्यहीं मरिन् होला, बी–१ मसँगै थिइन्’ ए–१ भन्छिन्, ‘मेरा श्रीमान् र मानवअधिकारकर्मीको जोडबलमा मलाई पत्रकारको जिम्मा लगाइ दिएछन् । श्रीमान्ले आफ्नो सम्पत्ति प्रतिकार समितिलाई दिएर मलाई बचाउनु भएछ ।’
युद्धले उजाडिएको परिवार
देशमा युद्ध थियो । युद्धको हावाले ए–१ लाई पनि छोयो । उनलाई माओवादीले किसान संगठनको स्थानीय नेतृत्वको जिम्मेवारी दिए । देशमा युद्धविराम चलिरहेको थियो । माओवादी घरमा आउँथे । माओवादी किन राखेको भन्दै सेना, प्रहरीमा जागिर खाने घरका मानिस र राजनीतिक दलका स्थानीय नेताहरूले दबाव दिने गर्थे । ए–१ को बस्ती पहाडबाट झरेकाहरूको नयाँबस्ती थियो । उनीहरूको रुझान माओवादीतिर बढी थियो । पुरानो बस्तीमा रहेकाहरू अधिकांशतः नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीमा संगठित थिए । माओवादीले गतिविधि बढाउँदै जाँदा प्रतिक्रिया स्वरूप गाउँमा एमाले–कांग्रेस नेतृत्वले प्रतिकार समिति गठन गरेका थिए । माओवादी नेताहरूले गाउँ नजिकै सभा गर्ने जिम्मेवारी ए–१ लाई दिए । उनी त्यो जिम्मेवारी पूरा गर्न गाउँमा सक्रिय भइन् । घटना घटेको दिन ए–१ का पति र ठूली छोरी बारीमा खनजोत गर्दै थिए । छोरो र छोरी पढ्न हिंडिसकेका थिए । अचानक प्रतिकार समितिका मानिस उनीहरू भएतिर आए ।
भागाभागको अवस्था आयो । तर तीन जना महिला भने प्रतिकार समितिको नियन्त्रणमा परे । ए–१ को भनाइमा, सुरुमा उनीहरूलाई खोलामा लगेर सामूहिक बलात्कार गरियो । उनीहरू बेहोश भएपछि गाविस भवनमा लगेर थुनियो । पत्रकार र मानवअधिकारकर्मीको टोलीलाई गाउँ पस्न दिइएन । पर्साबाट प्रकाशित हुने प्रतीक दैनिकका बारा विशेष प्रतिनिधि गम्भीरा सहनी स्थानीय चौधरीहरूसँग सम्बन्ध बनाएर गाउँ पसेका थिए । उनी भन्छन्, ‘सुरुमा हामीलाई गाउँ पस्न दिइएन, विस्तारै स्थानीय चौधरीहरूसँग सम्बन्ध बनाएर गाउँ पस्यौं र रिपोर्टिङ ग¥यौं’ सहनी भन्छन् । अन्ततः पत्रकार र मानवअधिकारकर्मीहरूको टोलीले ए–१ र बी–१ को जिम्मा लियो र प्रतिकार समितिको कब्जाबाट उनीहरू मुक्त भए । ‘पत्रकारहरू हाम्रा लागि भगवान सावित भए, हामी मृत्युबाट बच्यौं’ उनी भन्छिन्, ‘हामीलाई छाड्न मेरो श्रीमान्ले १० कट्ठा जमिन प्रतिकार समितिलाई दिनुप¥ यो । मेरो श्रीमान्ले जग्गा दिएको तमसुकमा दायाँ–बायाँ ल्याप्चे लगाएपछि मात्रै मलाई छाडेका रहेछन् ।’ यसरी उनीहरू छुटे तर, ए–१ को १२ वर्षीय छोरालाई पनि प्रतिकार समितिले बेपत्ता बनाएको थियो । उनको अहिलेसम्म अत्तोपत्तो छैन ।
‘घर जलाएपछि हामी विस्थापित भयौं । मेरा सन्तानहरूले पढ्न पाएनन् । एकजना नाबालक छोरो बेपत्ता नै बनाए’ उनी भन्छिन्, ‘बाँकी रहेका पनि सबै घर न घाटका भएका छौं ।’ शरीरका विभिन्न भागमा भएका चोट देखाउँदै उनी भन्छिन्, ‘समयले कति प्रमाण मेटिसक्यो, तर मैले बेलैमा किटानी जाहेरी दिएकी थिएँ । पाठेघर र मिर्गौलाको समस्या छ । हात र खुट्टा भाँचिएका छन् । अहिले पनि महिनाको १३०० रुपैयाँको औषधि खानुपर्छ ।’
न्यायको लागि संघर्ष
‘न्याय र समानतामा आधारित देश बनाउने’ सपनामा माओवादी आन्दोलनमा लागेकी ए–१ का लागि न्याय एउटा मृगतृष्णा बनेको छ । दुई दशक लामो संघर्षका बावजुद उनले न्याय पाउन सकेकी छैनन् । बरु उनकै अगाडि पीडकहरू पार्टीबाटै पुरस्कृत भइरहेका छन् । शान्ति प्रक्रिया सुरु भएपछि उनले स्थानीय शान्ति समितिमा उजुरी दिइन् । शान्ति समितिले सर्जमिन ग¥यो । घटनाको विस्तृत अध्ययन पनि ग¥यो । घटना भएको पुष्टि भएपछि ए–१ ले दिएको उजुरी औपचारिक रूपमा दर्ता पनि भयो । अहिले उनको छोराको नाम बेपत्ताको सूचीमा छ । जिल्ला शान्ति समिति हुँदै उनको मुद्दा सत्य निरुपण तथा मेलमिलाप आयोगमा पुगेको छ । यस बीचमा माओवादी पार्टी पटक–पटक सरकारमा पुग्यो । पार्टीका धेरै नेता सदावहार सत्तामा छन् । तर, उनले न्याय पाउन सकिनन् ।
दुईदेखि अढाइ दशकपछि द्वन्द्वमा बलात्कृत भएका महिलाहरू अहिले न्याय खोज्दै संगठित भएका छन् । ए–१ अहिले ‘द्वन्द्वमा बलात्कार पीडित महिलाको राष्ट्रिय संगठन’को केन्द्रीय सदस्य छिन् । यसबीचमा उनले व्यहोरेको पीडा र सास्तीको शृंखला अत्यासलाग्दो छ । नेपाली समाजमा सार्वजनिक रूपमा सामूहिक बलात्कारमा परेको महिलाको अवस्था कस्तो होला ? उनका पति १३ वर्षसम्म बोलेनन् । उनी भन्छिन्, ‘मेरो बा मेरो मुख नहेरी बितेर गए, म माइत नगएको २१ वर्ष भइसक्यो, मेरा माइती मसँग बोल्दैनन् र विवाह व्रतबन्धमा मलाई बोलाउँदैनन् ।’ ‘के मेरा छोराछोरीलाई मावल जान मन लागेको छैन होला र ?’ उनी प्रश्न गर्छिन्, ‘सामूहिक बलात्कारमा परेको भन्दै यो समाजले मेरो हातको पानी पनि नखाने भन्न मिल्छ ? यस्तो कुरा मैले कति सुन्ने ?’ छोरो बेपत्ता छ, सम्पत्ति लुटिएको छ । यो घटनाबारे त्यतिबेला स्थानीय पत्रपत्रिकाले बकाइदा खबर लेखेका छन् । देख्ने मान्छे जिउँदै छन् । तर अझै पनि न्याय नपाउँदा ए–१ लाई खपिनसक्नुभएको छ ।
पार्टीभित्रको संघर्ष
अहिले मेरो घरमा कोही माओवादी पुग्दा श्रीमान्लाई सहन गाह्रो हुन्छ । ‘पटक–पटक सत्तामा पुग्दा पनि आफ्नी श्रीमती लगायतले न्याय नपाउँदा, छोराको अवस्था थाहा नहुँदा उहाँलाई हुने जलन म पनि महसुस गर्न सक्छु’, उनी भन्छिन् । यसबीचमा ए–१ लाई नेकपा एमाले लगायत पार्टीका नेताहरूले पनि भेटेका थिए । ‘एमालेका नेताले भेटेर न्याय दिन्छौं, सभासद बनाउँछौं पनि भने, म यही पार्टीमा लडेर न्याय पाउँछु भनेर कतै गएकी छैन’ उनले भनिन्, ‘मेरो रगत यहीं बलिदानी भएको छ । म अन्त किन जाने ?’ माओवादीले नै न्याय दिनुपर्ने उल्लेख गर्दै उनले भनिन्, ‘न्याय दिएनन् भने प्रचण्डको ढोका अगाडि गएर आत्मदाह गर्छु ।’ तर पार्टीको प्रतिक्रिया त्यति सकारात्मक छैन । ‘मलाई बलात्कार गर्ने मान्छेहरू विरुद्ध मैले माओवादी पार्टीमा किटानी जाहेरी दिएँ’ उनले भनिन्, ‘उनीहरूलाई दण्ड होइन, उल्टो पार्टी प्रवेश गराइयो ।’
यस्तो काम विरुद्ध उनी १८–२० वैशाख २०७१ मा सम्पन्न तत्कालीन एकीकृत नेकपा माओवादीको विराटनगर सम्मेलनका अवसरमा गेटमै अनशन पनि बसिन् । तर, उनलाई भित्र पस्न दिइएन । ‘पहिला प्रतिकार समितिमा रहेका उर्मिला अर्याल र जालिम मियाँहरू माओवादी बनेका थिए’ उनी भन्छिन्, ‘कार्यक्रममा उनीहरूको विरोध हुन्छ भनेर मलाई भित्र पस्न दिइएन ।’ तीन दिन गेटमै बस्दा पनि केही नलागेपछि उनी रुँदै घर फर्किएको बताउँछिन् । २०७४ मा प्रतिकार समितिको नेतृत्व गर्ने जालिम मियाँ माओवादी पार्टीमा प्रवेश गरेर स्थानीय तहमा उम्मेदवार बनेका थिए । पर्सागढीमा उनी संलग्न एउटा कार्यक्रममा ए–१ लाई पनि आसन ग्रहण गर्न मञ्चमा बोलाइयो । उनले आँसु रोक्न सकिनन् । उनले चिच्याएर भनिन्, ‘हिजो महिलालाई बलात्कार गर्नेले ओढाएको सल म ओढ्दिनँ र तिमीहरूलाई चुनाव जिताउन जनताको घरदैलोमा जान्नँ पनि । मलाई प्रचण्डले कारबाही गरे गरून् !’ सबै निःशब्द । हेरेको हे¥यै भए । ‘मलाई आजकल माओवादीको कार्यक्रम देख्नासाथ त्यहीं भित्र गएर अरूलाई पनि हानौं र आफू पनि मरौं जस्तो लाग्छ’ उनी भन्छिन्, ‘हामीले न्याय पाउनुप¥यो । माटामाथि बाँचेर हिंड्नुप¥यो नि सास रहुन्जेल ।’
अब ५–१० वर्ष जति बाँचे पनि न्याय पाएर मर्न मन छ उनलाई । तर, अवस्था सजिलो छैन । ‘न गाँस छ, न बास, न बेपत्ता छोराको लास छ, हामीलाई त नालामा लगेर छाडियो’, उनी भन्छिन् । अब न्यायका लागि आवाज बुलन्द गर्ने उनको योजना छ । ‘परिवारका सदस्यहरूको माया कस्तो हुन्छ, हाम्रो पार्टी नेतृत्वलाई थाहै होला । हामी कसरी बाँचिरहेका हौंला ?’ उनी प्रश्न गर्छिन्, ‘हाम्रो पनि त्यही कोख हो । हामी पनि उस्तै महिला हौं । हाम्रा छोरा चाहिं छोरा होइनन् ? हामी कसरी बाँचिरहेका छौं होला ?’ तर, युद्धकालका दोषीहरूलाई कारबाहीको सट्टा पार्टीमा माला लगाएर भित्र्याउने काम भइरहेको छ । यो दृश्य देख्दा उनको मनमा आगो बल्छ । ‘बाहिरका दृश्यहरू देख्दा कोठाभित्र आएर भक्कानिएर रुन्छु’ उनी भन्छिन्, ‘एक मुट्ठी सास छउन्जेल लड्ने हो । एक दिन मात्रै भए पनि न्याय पाएर मर्न पाउनुप¥यो ।’ उनको प्रश्न छ, ‘पीडक पुरस्कृत हुने र पीडित रोएर हिंड्नुपर्ने ? के यसैको लागि भएको थियो युद्ध ?’ उनीसँगै बलात्कृत एउटी साथीको अहिलेसम्म न लास छ न सास । स्तन टोकिएको रगताम्मे अवस्थामा उनले अन्तिम पटक देखेकी थिइन् उनलाई । अर्की साथीलाई लोग्नेले छाडिदिए । एउटा अपाङ्गता भएकी बच्ची छ । उनी भन्छिन्, ‘उनको जिन्दगी कस्तो होला ? उनी कसरी बाँचिरहेकी होलिन् ? तपाईं कल्पना पनि गर्न सक्नुहुन्न ।’
पार्टीले आफूहरूको पुरानो जीवन फर्काउनुपर्ने उनको माग छ । ‘मेरो श्रीमान्ले कति माया गर्थे । सार्वजनिक रूपमा बलात्कृत भएपछि यो समाजले गर्ने व्यवहार कस्तो हुन्छ’ उनी भन्छिन्, ‘नेपाली समाजमा एउटा महिला कसरी बाँचेकी होला ? नेताको बुद्धि छैन ? कुनै चेतना छैन ? जे पनि गर्दिने ? प्रचण्ड प्रधानमन्त्री र केही नेता मन्त्री भएपछि सबै चीज सकियो ?’ पहिलो कुरा, म व्यक्तिगत स्वार्थका लागि पार्टीमा हिंडेकी थिइनँ । मलाई न्याय चाहियो । दोस्रो, मेरो छोरो फिर्ता चाहियो । आज बाँचिरहेको भए ऊ पनि त मन्त्री हुन्थ्यो होला । नेताका छोरा जे पायो त्यही खाएर मर्दा शहीद प्रतिष्ठान बनाउनुपर्ने, हाम्रा सन्तान बेपत्ता हुँदा बेवास्ता गर्ने ? हामीसँगै सामूहिक बलात्कारमा परेकी सी–१ आजसम्म बेपत्ता छिन् । उनलाई कसले सम्झने ? उनका नाममा कसले शहीद प्रतिष्ठान बनाउने ? उनले बन्दुक कसको लागि बोकेकी थिइन् ? उनलाई बन्दुक कसले बोकाएको थियो ? उनी आक्रोशित हुँदै भन्छिन्, ‘लुटको स्वर्गमा विलासी जीवन बिताइरहेका केही नेता परिवारलाई एक दिन हाम्रो आँसु र रगतले पिर्नेछ ।’ एकपटक पार्टी नेतृत्वले बलात्कार पीडित महिला नेतृत्वलाई खादा ओढाएर सम्मान ग¥यो । ‘म भक्कानिएर रोएँ, लाग्यो हाम्रा लागि यही खादा मात्रै लेखेको रहेछ’, उनी भन्छिन् ।
द्वन्द्वमा बलात्कार पीडित महिलाको राष्ट्रिय संगठनकी संयोजक देवी खड्का नेताहरूले लाज पचाएर बेवास्ता गर्दा पीडितहरू निरीह जीवन बिताउन बाध्य भएको बताउँछिन् । न्यायको कुरा गर्ने संस्थाहरू पनि न्यायको बाटो देखाउने भन्दा पीडितहरूलाई कच्चा पदार्थको रूपमा प्रयोग गर्ने पक्षमा देखिएको उनको आरोप छ । अहिले पनि ए–१ को न्याय पाउने आशाको दियो निभेको छैन । ‘हामी संगठित हुन थालेपछि पीडकहरू डराउन थालेका छन् । मलाई असुरक्षा बढेको छ’ उनी भन्छिन्, ‘तर मलाई डर लाग्दैन । अब डराउन मेरो के नै बाँकी छ र ?’ साभार : अनलाइनखबर
प्रतिक्रिया दिनुहोस् !