• हरिशंकर शर्मा
वीरगंज (पर्सा), २८ कात्तिक / आसन्न निर्वाचनको लागि उम्मेदवारहरु मतदाताको घरदैलो अभियानलाई तिब्रता दिएका छन् । यही मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको लागि उम्मेदवारहरु आकर्षक तथा लोभलाग्दा नारा सहित मतदाताको घरदैलोमा पुगी मत माग्ने कार्यलाई तिब्रता दिएका हुन् । पर्सा जिल्लामा अहिले चुनावी सरगर्मी बढेसँगै घरदैलो अभियान पनि उत्तिकै बढेको छ । मुलुककै लागि आर्थिक नगरी र मधेश प्रदेशका मुख्यमन्त्री यही जिल्लाबासी भएको कारण पनि चुनावी सरगर्मी बढेको हो ।
सबै उम्मेदवारहरु आआफ्नो एजेण्डा बोकेर जनताको घरदैलोमा पुगी मत माग्ने कार्यमा व्यस्त छन् । कसैले विकास निर्माणको नयाँ नयाँ योनजा लिएर चुनावी चुनावी मैदानमा उत्रिएका छन् भने कसैले आफूले गरेको विकास निर्माण र बाँकी अधुरा निर्माण कार्यलाई निरन्तरता दिने आश्वासन सहित चुनावी मैदानमा उत्रिएका हुन् तर यस पटक मधेशको मुद्दालाई कुनै उम्मेदवारले ठोस् मुद्दा बनाएका छैनन् । निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरु दर्जनौ एजेण्डा र लोभलाग्दा नारा सहित आआफ्नो जितको दाबी गरि रहेका छन् ।
पर्सा क्षेत्र नं. १ मा आफू प्रतिद्वन्द्वी भन्दा अत्याधिक मतले विजयी हुने दावी गरेका छन् । २०७४ मा सांसदमा निर्वाचित भएयता आफू हरेक हप्ता क्षेत्रमा जनतामाझ पुग्ने गरेको बताउँदै उनले जनताको सुख दुःखमा सदैव साथ दिइरहेकाले पनि पुनः चुनाव जितेर नयाँ इतिहास रच्नेमा ढुक्क रहेको बताए । आफूले गरेको विकास निर्माणको कार्यहरु स्मरण गराउँदै बाँकी अधुरा विकास निर्माणका योजनाहरु पुरा गर्ने बताउँछन् ।
यता तीन दशक नेपाली कांग्रेसमा बिताएपनि पार्टीले आफ्नो कामको मूल्याँकन नगरेको भन्दै पार्टीको विद्रोह गर्दै स्वतन्त्र उम्मेदवारी दिएका अजय द्धिवेदीले पार्टीले मेरो कामको मूल्याँकन नगरि गठबन्धनको नाममा आफूहरुमाथि अन्याय गरेको बताउँछन् । गलत राजनीतिको शिकार बनेका यहाँका जनताहरुको हकहितको लागि आफू स्वतन्त्र उम्मेदवार बनेको र यस पटक पार्टी भन्दा पनि जनताको जित हुन्छ भनेर आफू विश्वस्त रहेको बताउँछन् ।
राजनीतिमा बढ्दै गएको व्यक्तिवादको रोगलाई अन्त्य गर्न आफ्नो उम्मेदवारी रहेको भन्दै द्विवेदीले आजको निर्वाचनमा पार्टी एवं व्यक्ति भन्दा गठबन्धन चुनाव लडि रहेको छ, जुन लोकतन्त्र जनताको नभई नेता भएको छ, त्यसलाई तोड्नको लागि आफ्नो स्वतन्त्र उम्मेदवारी रहेको बताए ।
यता सत्ताधारी बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार लक्षमणलाल कर्णले नेपाली काँग्रेसकै कारण मुलुकमा लोकतन्त्र आएको भन्दै परिवर्तनको लागि बाम लोकतान्त्रिक गठबन्धनको जित आवश्यक रहेको बताए । उनले संघीयता, नागरिकता तथा आरक्षणको लागि लोकतान्त्रिक समाजवादी लडेको भन्दै देशमा संघीय लोकतान्त्रिक गणतन्त्र बचाउनका लागि परिवर्तनकारी पार्टी सहितको गठबन्धनलाई जिताउनुपर्ने बताए ।
पर्सा जिल्लामा ४ वटा प्रतिनिधिसभा तथा ८ वटा प्रदेशसभा सदस्यको पदमा १ सय ४४ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दिनेहरुमा बढि स्वतन्त्र उम्मेदवार छन् । १ सय ४४ जना उम्मेदवारमध्ये ८२ जना स्वतन्त्र उम्मेदवार छन् भने ६२ जनाले राजनीतिक दलका उम्मेदवार छन् । प्रतिनिधि सभा सदस्यको लागि चार वटै निर्वाचन क्षेत्रमा ५० जना उम्मेदवार छन्, जसमध्ये २४ जना स्वतन्त्र छन् भने ८ वटा प्रदेशसभा सदस्यका लागि ९४ जना उम्मेदवार छन्, जसमध्ये ५८ जना स्वतन्त्र उम्मेदवार हुन् ।
प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन क्षेत्र नम्बर १ मा २२ जना, क्षेत्र नं. २ र ३ मा ११÷११ जना, क्षेत्र नं. ४ मा ६ जना गरि ५० जना उम्मेदवार छन् । यसैगरि प्रदेशसभा सदस्यको लागि निर्वाचन क्षेत्र नं. १ मा (क) र (ख) गरि ३३ जना, क्षेत्र नं. २ मा (क) र (ख) गरि २३ जना, क्षेत्र नं. ३ मा (क) र (ख) गरि २७ जना तथा क्षेत्र नं. ४ मा (क) र (ख) गरि ११ जना गरि ९४ जना प्रदेशसभा सदस्यका उम्मेदवार छन् ।
प्रतिनिधिसभा सदस्यको लागि पर्साको क्षेत्र नं. १ मा (जसपा–एमाले) गठबन्धन प्रदीप यादव र स्वतन्त्र उम्मेदवार अजय द्विवेदीबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । यस क्षेत्रमा सत्ताधारी बाम लोकतान्त्रिक गठबन्धनका लक्ष्मणलाल कर्ण उम्मेदवार रहेपनि उनको खासै चर्चा छैन ।
क्षेत्र नं. २ मा (जसपा–एमाले) गठबन्धनका सुरेन्द्र कुर्मी तथा सत्ताधारी बामलोकतान्त्रिक गठबन्धनका अजय चौरसियाबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ भने क्षेत्र नं. ३ मा (जसपा–एमाले) गठबन्धनका राजकुमार गुप्ता तथा सत्ताधारी बामलोकतान्त्रिक गठबन्धनका सुरेन्द्र चौधरीबीच कडा प्रतिस्पर्धा हुनेछ । त्यसैगरि क्षेत्र नं. ४ मा (जसपा–एमाले) गठबन्धनका (जसपा–एमाले) गठबन्धनका जालिम मियाँ तथा सत्ताधारी बामलोकतान्त्रिक गठबन्धनका रमेश रिजालबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।
यसरी निर्वाचनको सरगर्मी बढि रहेको अवस्थामा कुनै उम्मेदवारसँग खासै ठोस् एजेण्डा छैन । कसैले विगतमा जितेर केही विकास निर्माणका कार्य गरेका छन् त्यसैलाई एजेण्डा बनाएर अगाडि बढेका छन् भने कसैले थप विकास निर्माण योजनाको एजेण्डा लिएर चुनावी मैदानमा उत्रिएका छन् ।
मधेशको अधिकार लगायत ठूलठूला मुद्दाको विषयमा पटक पटक मधेशी जनताहरु नेताहरुबाट ठगिएकै कारण होला कसैले मधेशका मुद्दाहरुलाई एजेण्डा बनाएका छैनन् । मधेशीहरुको नाममा पटक पटक आन्दोलन भई सहिद भएकाहरुको अवस्था हेर्दा अथवा मधेशमा उठाइएको मुद्दाहरु छाडेर सत्तामा लिप्त भएका नेताहरुको चरित्रले गर्दा पनि यस पटक मधेशी जनताहरुले नेताहरुमाथि विश्वास नगर्ने त्रासले गर्दा पनि यस पटक कसैले मधेशको मुद्दामा खरो उत्रिएका छैनन् ।
त्यसमा पनि मधेशमाथि दमन गर्ने तत्कालीन एमाले सरकारसँग मधेशी दलहरु गठबन्धन गरेर चुनावमा उत्रिएको कारण पनि मधेशको मुद्दाहरु चुनावमा सुन्न पाइएको छैन । यस पटकको निर्वाचनमा मात्रै विकास निर्माण गर्ने, अधुरो विकास निर्माणलाई पुरा गर्ने जस्ता दर्जनौं एजेण्डा एवं लोभलाग्दा नाराहरु अघि सारेर उम्मेदवारको घरदैलोमा पुगी मत माग्ने कार्यलाई निरन्तरता दिएका छन् ।
प्रतिक्रिया दिनुहोस् !