वीरगंज (पर्सा), ३ कात्तिक / करिब ४ दशकदेखि नेपाली कांग्रेसमा आबद्ध रहेका वीरगंजका अजय द्विवेदी अन्ततः स्वतन्त्र उम्मेदवार बनेर चुनावी मैदानमा ओर्लिएका छन् । सत्ता गठबन्धनबाट टिकट नपाएपछि पर्सा– १ मा प्रतिनिधिसभामा उनले बागी उम्मेदवारी दिएका हुन् । सत्ता गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का लक्ष्मणलाल कर्णले टिकट पाएका छन् ।
२०७४ सालको निर्वाचनमा कर्ण पर्सा– ४ बाट निर्वाचित भएका थिए । साविकको राष्ट्रिय जनता पार्टी (राजपा) बाट उनले पर्सा– ४ मा जितेका थिए । २० हजार ३७८ मत ल्याएर निर्वाचित भएका कर्ण यसपटक पर्सा– १ मा उम्मेदवार बनेका छन् । त्यसैगरी प्रतिपक्षी गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) का प्रदीप यादवले टिकट पाएका छन् । २०७४ सालको चुनावमा उनले सोही क्षेत्रबाट जित्न सफल भएका थिए । २१ हजार १३२ मत ल्याएर निर्वाचित भएका यादवले त्यतिबेला पनि नेपाली कांग्रेसका उम्मेदवार अनिलकुमार रुंगटालाई पराजित गरेका थिए ।
रुंगटाले १६ हजार ४८१ मत ल्याएका थिए । रुंगटा यसपटक समानुपातिकबाट उम्मेदवार छन् । यसरी हेर्दा पर्सा– १ मा कांग्रेसका बागी उम्मेदवारी दिएका द्विवेदीका कारण त्रिकोणात्मक प्रतिस्पर्धा देखिएको छ । द्विवेदीले माछा चुनाव चिह्न पाएका छन् ।
यस्तो छ द्विवेदीको राजनीतिक यात्रा
द्विवेदी २०३६ सालदेखि नेपाली कांग्रेसको विद्यार्थी राजनीतिमा आबद्ध भएपनि उनको परिवार भने पर्सामा कांग्रेसको संस्थापक नै हुन् । उनको ठूलोबुवा भागवत द्विवेदी २०१५ सालमा कांग्रेसको पर्सा जिल्ला सभापति थिए । परिवार नै कांग्रेसमा आबद्ध हुनुका साथै कांग्रेसको जिल्ला नेतृत्व समेत गरेकाले उनी आफ्नो ठूलोबुवाको प्रेरणाबाट नै राजनीतिमा सक्रिय भए ।
’नेपाली कांग्रेसमा हाम्रो परिवारको शुरूदेखि नै योगदान छ । परिवारका सदस्यहरू विभिन्न समयमा भएको प्रजातान्त्रिक आन्दोलनमा होमिँदा जेल समेत पटक–पटक जानुभयो,’ द्विवेदीले भने, ’त्यसकारण पनि मलाई राजनीतिमा आउन प्रेरित गरेको थियो । र, २०३६ सालमा विद्यार्थी हुँदाकै अवस्थामा म पनि जनमत संग्रहमा लागेको थिएँ ।’
उनी गाउँकै विद्यालय शारदा मावि बहुअरी सुगौलीमा पढ्दा त्यहाँ स्ववियुको पहिलो सभापति भएका थिए । २०३६ सालमा उनी १० कक्षामा अध्ययन गरिरहँदा विद्यालयको स्ववियु सभापति हुन पुगेका थिए । विद्यालयमा विद्यार्थी युनियन खोल्न नदिने सरकारको निर्देशनपछि उक्त स्ववियु खारेज भएको थियो ।
एसएलसी उत्तीर्ण गरेर वीरगञ्जकै ठाकुरराम बहुमुखी क्याम्पसमा प्रविणता तहको शिक्षा लिने क्रममा उनी क्याम्पसको नेपाल विद्यार्थी संघ (नेविसंघ) को इकाई सभापति समेत भएका थिए । त्यसपछि सोही क्याम्पसमा स्ववियु सदस्यमा समेत उनी नेविसंघबाट निर्वाचित भएका थिए ।
थप अध्ययन गर्नका लागि काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको केन्द्रिय क्याम्पसमा अध्ययन गर्न आएको बेला पनि २०४६ सालमा उनी नेविसंघको त्रिवि इकाई कमिटीको उपाध्यक्ष भएका थिए ।
२०४६ सालको आन्दोलनमा समेत उनी सहभागी भएका थिए । २०४६ सालको आन्दोलनपछि उनी गृह जिल्ला पर्सा फर्किए । पर्सा फर्किएपछि उनी संगठनको काममा लागे । २०४९ सालमा भएको स्थानीय निकायको निर्वाचनमा वीरगञ्ज नगरपालिकामा पार्टीले उनलाई उपमेयरमा उठाएको थियो । उक्त चुनावमा जितेर उनले उपमेयरको हैसियतमा नगरवासीलाई सेवा दिने मौका पाएका थिए ।
नेपाली कांग्रेस विभाजित भएर शेरबहादुर देउवाको नेतृत्वमा नेपाली कांग्रेस प्रजातान्त्रिक गठन भएपछि प्रजातान्त्रिक कांग्रेस पर्साको सभापति भएर उनले नेतृत्व गरेका थिए । ४ वर्षपछि पुनः नेपाली कांग्रेसमा पार्टी समायोजन हुँदा पनि कांग्रेस पर्साको नेतृत्व उनैले गर्न पाए । एकीकृत पार्टीको नेतृत्व गर्दै उनले २०६२/०६३ सालको जनआन्दोलनमा भूमिका निर्वाह गरेका थिए ।
’उक्त आन्दोलनको क्रममा मलाई पक्राउ समेत गरिएको थियो । करीब ४ महिनासम्म मलाई जेलमा राखिएको थियो,’ द्विवेदीले भने, ’जहिले पनि फ्रन्टलाइनमै रहेर आन्दोलनको अगुवाई गरेको थिएँ ।’ पार्टीले उनको भूमिका तथा योगदानलाई मूल्यांकन गर्दै २०६४ सालको पहिलो संविधानसभा चुनावमा पर्सा– २ बाट टिकट दिएको थियो । ९ हजार ५३१ मत ल्याएर उनी निर्वाचित हुन सफल भएका थिए । तत्कालीन मधेशी जनअधिकार फोरम नेपालका शशी कपुर मियाँलाई उनले पराजित गरेका थिए ।
मियाँले ८ हजार २१ मत ल्याएका थिए । राप्रपाका गोखुलप्रसाद कुर्मीले ६ हजार ४५७ मत र नेकपा एमालेका विचारीप्रसाद यादवले ५ हजार ६५६ मत ल्याएका थिए । उनी जिल्ला सभापति भएका कारण उनलाई आफ्नो क्षेत्र मात्र नभएर अन्य निर्वाचन क्षेत्रमा समेत प्रचारप्रसारमा जानु परेको थियो । उनकै नेतृत्वमा पर्सा– ३ मा कांग्रेसका अजयकुमार चौरसिया, पर्सा–५ मा रमेश रिजाल समेत जित्न सफल भएका थिए ।
त्यसपछि २०७० सालमा भएको दोस्रो संविधानसभामा पर्सा– २ बाट फेरि पार्टीबाट टिकट पाएका थिए । तर, उक्त चुनावमा नेकपा एमालेका विचारीप्रसाद यादवसँग उनी पराजित भए । २०७४ सालको स्थानीय तहको निर्वाचनमा पार्टीले वीरगञ्ज महानगरपालिकाको मेयरमा टिकट दिएको थियो । पूर्व उपमेयर समेत रहेकाले पार्टीले उनलाई मेयरमा उठाउने निर्णय गरेको थियो ।
मेयरमा उठेका द्विवेदी तत्कालीन संघीय समाजवादी पार्टीका विजयकुमार सरावगीसँग पराजित भएका थिए । त्यसपछि उनी फेरि २०७९ सालको स्थानीय तह चुनावमा मेयर उठ्न चाहेका थिए । तर, गठबन्धनका कारण उक्त महानगर जनता समाजवादी पार्टीको भागमा पर्दा राजेशमान सिंह मेयरमा निर्वाचित भएका छन् ।
स्थानीय तहमा समेत टिकट नपाएपछि उनी जसरी पनि मंसिर ४ गते हुने प्रतिनिधिसभाका लागि टिकटका आकांक्षी थिए । स्थानीय तहमा नेपाली कांग्रेसले टिकट नपाउँदा कार्यकर्ताहरूमा चरम असन्तुष्टि भएकाले यसपटक कांग्रेसले उक्त क्षेत्र छाड्नु हुँदैन भनेर उनले नेतृत्वलाई सकभर दबाब पनि दिए । तर उनले टिकट पाउन सकेनन् । त्यहाँ गठबन्धनबाट लोसपालाई अगाडि सारियो ।
’म आफ्नो सक्रिय राजनीतिको ४० वर्षमध्ये ३८ वर्षसम्म देउवाकै सहयोगी भएर काम गरें,’ द्विवेदीले भने, ’पार्टीको पछिल्लो महाधिवेशनमा सभापतिमा उठेका विमलेन्द्र निधिलाई साथ दिन पुगेपछि देउवा टीमबाट अलग्गिन पुगेको थिएँ ।’
पछि दोस्रो चरणको निर्वाचनमा निधिले देउवालाई समर्थन गरेपनि आफूले भने शेखर कोइरालालाई साथ दिएको प्रतिशोध देउवाले साँधेको उनको गुनासो छ ।’ स्थानीय तहको निर्वाचनदेखि नै वीरगञ्जमा कांग्रेस जसपालाई जिम्मा लगाइएको थियो,’ उनले थपे,’ स्थानीय तहको निर्वाचनमा भएको असन्तुष्टिको व्यावस्थापन गर्न जसरी पनि यो क्षेत्र कांग्रेससँगै राख्नुपर्नेमा त्यसो हुन सकेन ।’
स्थानीय चुनावमा कांग्रेसले गठबन्धनबाट जसपा उम्मेदवार राजेशमान सिंहलाई भोट दिएर जिताए पनि जिल्ला समन्वय समितिको चुनावमा जसपाले धोका दिएको उनको कथन छ ।’ जिल्ला समन्वय समितिमा जसपाले एमालेसँग गठबन्धन गरेर कांग्रेसलाई धोका दिएको हुनाले कांग्रेसका कार्यकर्तामा असन्तुष्टि थियो । तर पनि देउवाजीले जसपालाई अन्तिमसम्म बोक्ने काम गर्नुभयो,’ उनले भने ।
पर्सा क्षेत्र नंं. १ का अधिकांश नेता तथा कार्यकर्ताको दबाब र सुझावमा आफूले स्वतन्त्र उम्मेदवारी दिएको उनको कथन छ ।’ मैले पार्टीमा गरेको योगदानको कदर नभएपछि धेरै साथीहरूले बागी नै उठेर पार्टीको गलत निर्णयविरुद्ध विद्रोह गर्नुपर्छ भनेपछि मैले विद्रोह गरेको हो,’ उनले थपे, ’कांग्रेस बाहेक वीरगञ्ज महानगरका समग्र जनताको सहानुभूति पाएको छु ।’
लोसपाबाट टिकट पाएका कर्णलाई पनि कांग्रेसले शहीद मात्र बनाएको उनको कथन छ । ’कर्णजीको संसदीय क्षेत्र पर्सा– ४ हो । त्यहीँबाट उहाँ चुनाव जित्नुभएको थियो,’ द्विवेदीले भने, ’तर, उक्त क्षेत्रमा कांग्रेसबाट रमेश रिजाललाई पठाएर कर्णजीलाई पर्सा– १ मा हार्नकै लागि टिकट दिएर ठगिएको छ ।’ पर्सा १ मा कांग्रेसको भोट कर्णलाई नजाने उनको जिकिर छ ।’ कांग्रेसको भोट मैले पाउँछु, कर्णजीले पाउनुहुन्न,’ उनले थपे, ’मैले ४० वर्ष लगानी गरेर बनाएको पार्टीको इमान्दार साथीहरूकै दबाबमा बागी उम्मेदवारी दिएका कारण कांग्रेससहित अन्य पार्टीका कार्यकर्ताको पनि मत मैले नै पाउँछु ।’
आफ्नो मुख्य प्रतिस्पर्धा जसपाका उम्मेदवार प्रदीप यादवसँग हुने उनको आंकलन छ । ’प्रदीप यादव यसै क्षेत्रको निवर्तमान सांसद हुनुका साथै केही समय मन्त्री पनि बन्नुभयो । उहाँलाई वीरगञ्जका मेयर राजेशमान सिंहले पनि सहयोग गर्नुहुन्छ,’ द्विवेदीले भने, ’त्यसकारण मेरो प्रतिस्पर्धा प्रदीप यादवसँग हुन्छ । कर्णजी त प्रतिस्पर्धामा पनि हुनुहुन्न ।’ दिनरात नभनी ४० वर्षदेखि यस क्षेत्रका जनताको सुखदुःखमा साथ दिएकाले पनि जनताले आफूलाई जिताउनेमा उनी ढुक्क छन् ।’ मेरो एक मात्र कमजोरी भनेको चुनावमा पैसा खर्च गर्न नसक्नु नै हो । बाँकी इमान्दार राजनीति चाहने विकासप्रेमी सबै मतदाताले मलाई नै भोट दिनुहुन्छ भन्नेमा विश्वस्त छु,’ उनले थपे, ’मैले जालझेल, कमिसन, ठगी धन्दाको राजनीति गरेको छैन । स्वच्छ राजनीति गरेर इमान्दार छवि बनाएको छु । त्यो नै मेरो ताकत हो ।’ साभार : लोकान्तर
प्रतिक्रिया दिनुहोस् !