वीरगन्ज (पर्सा), २९ असार / शंकर ग्रुपको जगदम्बा स्टिलले उत्पादन गर्ने फलामे डण्डीमा ‘डक्टिलिटी’ कम हुने गरेको छ । डक्टिलिटी भनेको नरमपना वा तन्किने शक्ति हो । फलाम जति लचकदार र तन्किने हुन्छ, त्यति नै राम्रो मानिन्छ । तर, साहिल अग्रवालको जगदम्बा स्टिल उद्योगले स्पञ्ज आइरन ल्याएर बिलेट बनाउने र यसरी स्पञ्ज ल्याएर बनाईने बिलेट प्राइम नभई सेकेण्डरी हुने भएकाले सेकेण्डरी बिलेटबाट बनेको फलाममा लचकदार क्षमता कम हुने गरेको पाईएको हो ।
गुणस्तर विभागमा पनि यस विषयमा पटक पटक गुनासो आउने गरेको विभाग स्रोत बताउँछ । तर, शक्ति केन्द्रको आडमा यो उद्योग र उद्योगीमाथि खासै देखिने गरी कुनै कारबाही हुने गरेको छैन । जगदम्बाले फलामका टुक्रा, खिया लागेका कवाडी र भारतबाट आयातित स्पञ्ज आइरनलाई सँगै प्रशोधनमा घान हाली बिलेट निकाल्ने गरेको छ । थोत्रा फलाम पगाल्न जगदम्बाले भट्टी नै बनाएको छ । जगदम्बा स्टिलले उच्च तापक्रममा थोत्रा र खिया लागेका फलामका टुक्रा हालेर पगालेर ‘लिक्वीड आइरन’ बनाउँछ । त्यसपछि उक्त लिक्वीड आइरनको तापक्रमलाई घटाएर बिलेट बनाउँछ । पत्रु पगालेर बनाईने बिलेटभन्दा पनि स्पञ्ज पगालेर बनाईने सेकेण्डरी बिलेटबाट बनेका फलाममा कार्बन, फस्फोरस र सल्फरको मात्रा बढी हुन्छ । यी तत्वको मात्रा धेरै हुँदा डण्डी लचकदारको सट्टा कडा बन्छ । जसका कारण बंग्याउँदा भाँचिन्छ । यसअघि पनि जगदम्बाका डण्डीहरु भाँचिएका थिए । फलामे डण्डीमा प्रयोग हुने रसायन, रसायनको मिश्रण, तापक्रम, बयिलोपन, लचकताका आधारमा मापदण्ड बनेको हुन्छ । लचकता नभएको फलामे डण्डी प्रयोग गरेर बसोबासका लागि बनाईने संरचना वा ठूला आयोजनाका संरचना जुनसुकै बेला भत्किन सक्ने जोखिम हुन्छ । हाल जगदम्बाले त्यस्तै फलामे डण्डी बनाईरहेको छ ।
जगदम्बाले अहिले ५०० डी बनाउँछ कि बनाउँदैन ?
नेपालमा स्पञ्ज आइरन ल्याएर बिलेट बनाउँदा प्राइम बिलेट उत्पादन हुँदैन । प्राइम बिलेट उत्पादन नभएपछि भौतिक संरचना निर्माणको लागि गुणस्तरीय मानिने ५००डी ग्रेडका फलामे डण्डीहरु बन्ने सम्भावना नै छैन । तर पनि साहिल अग्रवाल र स्पञ्ज आइरन ल्याउने केही उद्योगीहरु भने अहिले पनि ५००डी ग्रेडका डण्डीहरु बनिरहेको दाबी गर्दै आएका छन् । अहिले पनि जगदम्बाले ५००डी उत्पादन गरिरहेको दाबी गरेको छ । स्पञ्ज आइरन पगालेर बनाईएको बिलेटबाट ५००डी गुणस्तरको डण्डी बनाईरहेको दाबी साहिल अग्रवाल लगायतका उद्योगीले गरेपनि त्यो झुटो दाबी हो ।
यसका लागि साहिलले पनि भित्री रुपमा विदेशबाट केही प्राइम बिलेट नै ल्याएका छन् । भन्सार विभाग स्रोतका अनुसार साहिल अग्रवालले स्पञ्जसँगै प्राइम बिलेट पनि केही मात्रामा आयात गरेका छन् । जसलाई उनले ५००डी ग्रेडका फलामे डण्डी बनाउन यहाँ स्पञ्ज आइरन पगालेर बनाईएको सेकेण्डरी बिलेटमा मिसाउने गरेका छन् । तर, संसदको उद्योग, वाणिज्य समिति अन्तर्गतको उपसमितिले बिलेटको पनि नेपाल गुणस्तर तोक्न निर्देशन दिएसँगै साहिल अग्रवालहरु तनावमा परेका छन् । साभार : बिजपाटी
प्रतिक्रिया दिनुहोस् !