एजेन्सी / नासाको इनसाईट ल्यान्डर सन् २०१८ नोभेम्बरमा मंगल ग्रह अवतरण गरेको थियो । सोही ल्याण्डरमा हालसम्मकै सबैभन्दा संवेदनशिल सिस्मोमिटर जडान गरिएको छ । मंगल ग्रहमा अवतरण गरेदेखि यसले सो ग्रहमा कैयौं साना हलचल मापन गरिसक्यो। तर पछिल्ला दुई कम्पन भने विशेष रहेको इनसाईट मिसनमा आबद्ध वैज्ञानिकहरुले बताएका छन् ।
“हालै मापन गरिएको दुई कम्पन अहिलेसम्मकै ठूलो मात्रै होइन, यसको कम्पन अवधि र विस्तार पनि निक्कै ठूलो देखिएको छ,’ मंगल ग्रहमा आएको भूकम्पनीसम्बन्धि शोत्रपत्रकी प्रमुख लेखिका अन्ना होर्लेस्टनले भनिन् । होर्लेस्टन बेलायतस्थित ब्रिस्टल विश्वविद्यालयकी भूकम्पविद् हुन् ।
वैज्ञानिकहरुले पछिल्ला दुई ठूला भूकम्पलाई अलग नाम पनि दिएका छन ्। सन् २०२१ अगष्ट २५ मा आएको पहिलो भूकम्पको नाम एस०९७६उ राखिएको छ । ल्याण्डर रहेको स्थानबाट ठ्याक्कै उल्टो भागस्थित गहिरो घाँटीहरुको संजाल ‘भ्यालेज म्यारिनेरिस’लाई केन्द्र बनाएर आएको यो भूकम्पको तिव्रता ४.२ रेक्टरको थियो ।
मंगल ग्रहमा मापन भएको दोस्रो ठूलो भूकम्पलाई एस१०००ए नाम दिइएको छ र यो पहिलो भूकम्प आएको २४ दिनपछि अर्थात सेप्टेम्बर १८ मा आएको थियो । एस१०००एको तिव्रता पहिलोको भन्दा केही कम अर्थात ४.१ रेक्टर मापन गरिएको छ । यसको सटिक केन्द्र अझै पत्ता लागेको छैन । तथापि यो मंगल ग्रहको अर्को भागमै रहेको वैज्ञानिक प्रक्षेपणले देखाएको छ ।
रोचक तथ्य के भने एस१०००ए भूकम्प ९४ मिनेटसम्म आएको थियो, जुन मंगल ग्रहमा मापन भएको हालसम्मको सबैभन्दा लामो भूकम्प हो । मंगल ग्रहका पछिल्ला दुवै भूकम्प इनसाईट ल्याण्डरको सिस्मोमिटरले ‘पी’ र ‘एस’ वेभ मापन गर्न नसक्ने विपरित भागमा आएकाले तिनले उत्सर्जित गरेका दबाब मापन हुन सकेन । तरंग मंगल ग्रहको विपरित भागबाट ग्रहको नाभी(कोर) पार गरेर आउदाँ दबाब निस्तेज हुन्छ ।
प्रतिक्रिया दिनुहोस् !